इटहरी/ रमणीय उच्च पहाडी परिवेश, चौंरी गोठाला जोडीको निश्चल प्रेम र कर्णप्रिय सङ्गीतको त्रिवेणीका रुपमा ‘तिमी नै छौ यो मनमा’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनीक गीतमा चर्चित गायिका अञ्जु पन्त र गायक तथा सङ्गीतकार दुर्गा पराजुलीको सुमधुर स्वर सुन्न सकिन्छ । दीपेन्द्र अधिकारीको भावपूर्ण शब्द रचना रहेको यस गीतमा गायक दुर्गा पराजुलीले नै सङ्गीत भरेका छन् ।
सो गीतलाई राजु कार्कीले सङ्गीत संयोजन (म्युजिक एरेन्ज) गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा माष्टरिङको काम गरेका छन् । भिडियोमा अभिनेता रमेश चन्द सोडारी र अभिनेत्री मिशेल घिमिरेलाई चौंरी गोठाला युवक र युवतीको भूमिकामा प्रस्तुत गरिएको छ । उनीहरुको अभिनयले प्रेमकथालाई अझ जीवन्त बनाएको छ । निर्देशक वीरेन्द्र भाट ‘विपिन’ले कथाको माग अनुसार भिडियोलाई रसुवा जिल्लाको आमाछोदिङ्मो गाउँपालिका अन्तर्गत पर्ने चौंरी चरन क्षेत्र, गत्लाङ र पार्वतीकुण्ड वरिपरिका मनमोहक स्थानमा दुई दिन लगाएर छायांकन गरेका हुन् । हेर्नुस् भिडियो।
महेश महराको सुन्दर छायांकनले भिडियोको दृश्य पक्षलाई निकै आकर्षक बनाएको छ । भिडियोमा चौंरी चरनकै क्रममा अंकुराएको प्रेम, एक-अर्काप्रतिको गहिरो समर्पण र उनीहरुको आफ्नै संसारलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । भिडियोको पोष्ट प्रोडक्सन वर्ल्डकभर मिडियाले गरेको हो ।
आफ्नो शब्दले गीत र भिडियोमार्फत नयाँ जीवन पाएकोमा गीतकार दीपेन्द्र अधिकारीले खुशी व्यक्त गरेका छन् ।
@parikalanewsofficial
लामो समयदेखि जापानमा रहेर पनि नेपाली गीत-सङ्गीत र साहित्यमा सक्रिय अधिकारीले यसअघि ‘मनमोहक पोखरा’, ‘चुलबुल चुलबुल (मामा भाञ्जीको गीत)’, ‘नेपालकी छोरी’, ‘जनताको मर्म’, ‘जीवनको रेल’, ‘जिन्दगी हो खेल जस्तै’, ‘फर्किन्छु यसपाली (दसैं-तिहार)’, ‘सपना सजाई’ लगायतका धेरै गीतहरु दर्शक/श्रोतामाझ ल्याएका छन् । गीतको भिडियोमा देखिएका रमेश चन्द सोडारी र मिशेल घिमिरेलाई आगामी जेठ ९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘नरसिंहा अवतार’मा पनि फरक-फरक प्रभावशाली भूमिकामा देख्न पाइनेछ ।














Discussion about this post