इटहरी/ आगामी जेठ १५ गते अर्थात गणतन्त्र दिवसको विशेष अवसर पारेर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘महाभोज’ यतिबेला चर्चामा छ । फिल्मको निर्माण पक्षले हालै आमाहरूको सम्मानमा एउटा भावनात्मक भिडियो सार्वजनिक गरेसँगै यसले दर्शकमाझ फिल्मको कथावस्तुप्रति थप कौतुहल जगाएको छ । सार्वजनिक गरिएको उक्त भिडियोमा नेपाली फिल्मका दुई सशक्त कलाकारहरु अभिनेता दयाहाङ राई र वरिष्ठ अभिनेत्री वसुन्धरा भुसालको मार्मिक अभिनय देख्न सकिन्छ ।
भिडियोमा भुसालले दिवंगत छोराको सम्झना गर्दै भावुकतापूर्ण अभिव्यक्ति दिएकी छिन् भने दयाहाङले उनलाई आफ्नै आमाजस्तै माया र सम्मान गर्ने भाव प्रस्तुत गरेका छन् । दृश्यमा भुसालले दयाहाङलाई केही रकम दिन्छिन्, जसलाई दयाहाङले सहज र ठट्टापूर्ण शैलीमा ‘खाइदिन्छु’ भन्छन् । तर, वसुन्धराले उनको इमानदारीमाथि पूर्ण विश्वास व्यक्त गर्छिन् । यो दृश्यले उक्त रकम सहकारी संस्थामा जम्मा गर्नका लागि दिइएको हुनसक्ने संकेत गर्छ । हेर्नुस् भिडियो।
यो भिडियोले यसअघि सार्वजनिक भएको फिल्मको टिजरसँग पनि सीधा सम्बन्ध जोड्दछ । टिजरमा दयाहाङ राईलाई एक सहकारी संस्थाको अध्यक्षको भूमिकामा देखाइएको थियो, जहाँ उनी बचतकर्ताहरूको चर्को रोषको सामना गरिरहेका छन् । टिजरमा बचतकर्ताको भूमिकामा देखिएका अभिनेता खगेन्द्र लामिछानेले दयाहाङप्रति आक्रोश पोख्दै भनेको संवाद, “मान्छे मार्ने मात्र होइन, मर्न बाध्य बनाउने मान्छे पनि हत्यारा हो,” ले चलचित्र वित्तीय अनियमितता वा ठगीजस्ता गम्भीर सामाजिक विषयवस्तुमा केन्द्रित रहेको प्रस्ट पार्छ ।
टिजरको त्यो संवाद र पछिल्लो भावनात्मक भिडियोले ‘महाभोज’ को कथावस्तु निकै रोचक र बहुआयामिक रहेको अनुभूति दिलाएको छ । आमाको मुख हेर्ने विशेष अवसर (मातातीर्थ औँसी) को शुभकामना दिँदै सार्वजनिक गरिएको भिडियोको अन्त्यमा “सम्पूर्ण आमाहरूको सम्मानमा, फिल्म ‘महाभोज’ परिवारको तर्फबाट अटल माया, अविच्छिन्न समर्पण र अनन्त प्रेरणाका प्रतीक सम्पूर्ण आमाहरूलाई हाम्रो श्रद्धा र नमन” भन्ने सन्देशले चलचित्रले भावनात्मक र सामाजिक पाटोलाई सँगसँगै लिएर आएको बुझिन्छ ।
@parikalanewsofficial
निर्देशक दिनेश राउतका अनुसार ‘महाभोज’ ले नेपाली समाजमा गहिरो जरा गाडेको वर्ग संघर्ष र पैसाका कारण सिर्जना हुने पारिवारिक, सामाजिक तथा नैतिक दबाबको यथार्थ चित्रण गर्दछ । फिल्म मूलतः पात्रहरूको आफ्नै अस्तित्व र आत्मसम्मानका लागि गरिने संघर्षमा केन्द्रित छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा सुवेदीले तयार पारेका हुन् ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, र वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय देख्न पाइनेछ । निर्माण पक्षका अनुसार ‘महाभोज’ नेपालसहित नेपालीहरूको बाक्लो उपस्थिति रहेका अधिकांश देशमा गणतन्त्र दिवस अर्थात् जेठ १५ गतेदेखि नै एकसाथ प्रदर्शनमा आउनेछ ।














Discussion about this post