इटहरी/ आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर प्रदर्शनमा आउन लागेको प्रतिक्षित नेपाली फिल्म ‘महाभोज’ को टिजर सार्वजनिक भएको छ । सामाजिक यथार्थवादमा आधारित देखिने यो फिल्मको टिजरले पैसाका कारण उत्पन्न हुने पारिवारिक र सामाजिक द्वन्द्वलाई केन्द्रमा राखेको आभास दिन्छ ।
टिजरको एक सशक्त अंशमा अभिनेता खगेन्द्र लामिछाने र दयाहाङ राई बीचको संवाद सुन्न सकिन्छ: “गोली ठोकेर मान्छे मार्दैमा मात्र हत्यारा हुँदैन, मान्छेलाई मर्न बाध्य बनाउने पनि हत्यारा हुन्छ!” यो संवादले फिल्म केवल भौतिक हिंसामा मात्र सीमित नरहेर सामाजिक अन्याय, आर्थिक असमानता र शक्ति संरचनाले व्यक्तिलाई कसरी मानसिक र अस्तित्वगत सङ्कटमा पार्छ भन्ने गहिरो विषयवस्तुतर्फ इङ्गित गर्दछ । हेर्नुस् टिजर ।
सहकारी संस्थाको अध्यक्षको भूमिकामा देखिएका दयाहाङ राईलाई टिजरमा विभिन्न भावनात्मक अवस्था (खुसी, आक्रोश) मा देखाइएको छ । उनको खुकुरी लिएर कसैको घर पस्ने दृश्य र जलिरहेको मोटरसाइकलले कथामा आउने तनावपूर्ण परिस्थितिलाई सङ्केत गर्छ । उनकी पत्नीको भूमिकामा रहेकी अभिनेत्री गौमाया गुरुङ भने पतिको आक्रोश मत्थर पार्न खोजिरहेकी देखिन्छिन् ।
@parikalanewsofficial
अर्कोतर्फ, खगेन्द्र लामिछाने र अञ्जना बराइलीलाई आर्थिक अभावका कारण पारिवारिक तनाव झेलिरहेको दम्पतीको रूपमा प्रस्तुत गरिएको छ । अभिनेत्री मलिका महत भने एक रहस्यमयी पात्रको रूपमा देखिएकी छिन्, जो प्रहरीसमक्ष आफू निर्दोष रहेको बयान दिइरहेकी छन् । गाउँपालिका अध्यक्षको भूमिकामा अभिनेता आर्यन सिग्देलको उपस्थितिले फिल्मको कथावस्तु राजनीतिक तहसम्म फैलिएको अनुमान गर्न सकिन्छ ।
टिजरमा देखाइएको “सत्य कहिल्यै लुक्दैन” भन्ने वाक्यले फिल्मको अन्तिम निष्कर्षतर्फ दर्शकलाई उत्सुक बनाउँछ ।
दिनेश राउतद्वारा निर्देशित ‘महाभोज’ले नेपाली समाजमा व्याप्त वर्ग सङ्घर्षलाई आफ्नो कथानकको मेरुदण्ड बनाएको छ । निर्देशक राउतका अनुसार, यो फिल्म पैसाले मानिसमाथि सिर्जना गर्ने पारिवारिक, सामाजिक र नैतिक दबाबको यथार्थ चित्रण हो, जहाँ पात्रहरू आफ्नो अस्तित्व र आत्मसम्मान जोगाउन सङ्घर्षरत छन् ।
फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत जस्ता स्थापित कलाकारका साथै वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल, वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता हिमाल कडरिया हुन् भने कथा तथा पटकथा विकास सुवेदीले लेखेका हुन् । निर्माण पक्षले ‘महाभोज’ लाई नेपाललगायत विश्वका विभिन्न देशमा रहेका नेपाली दर्शकमाझ एकसाथ प्रदर्शन गर्ने योजना बनाएको छ ।














Discussion about this post