इटहरी/ नेपाली फिल्म उद्योगमा नयाँ जोडीको रूपमा चर्चित हास्य कलाकार जितु नेपाल र नायिका वर्षा सिवाकोटीले एकसाथ फिल्मको पर्दामा काम गर्ने भएका छन् । उनीहरूको अभिनय रहने नयाँ फिल्म ‘कार्की साइला’को शुभसाइत समारोह आज काठमाण्डौ कोटेश्वरको महादेवस्थान मन्दिरमा सम्पन्न भएको छ । स्क्रिप्ट पूजा र मुहूर्त सटसहित यो समारोहमा जितु र वर्षाले फिल्मको औपचारिक सुरुवात गरे ।
कर्ण बहादुर फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन राजेन्द्र बस्नेतले गर्दैछन् । भगत चाम्लिङको प्रस्तुति र बालकुमार राइको लगानीमा बन्न लागेको यो फिल्मको छायांकन वैशाख २० गतेबाट धनकुटामा सुरु हुनेछ । फिल्ममा जितु नेपाल एक भरियाको भूमिकामा देखिनेछन् । उनले गाउँमा दाउरा-घाँस गरेको अनुभवले यो भूमिकालाई सहज बनाउने बताए । ‘वर्षा सिवाकोटीजस्तो प्रतिभाशाली कलाकारसँग काम गर्न पाउँदा म निकै उत्साहित छु । यो कथाले साधारण मान्छेको जीवनलाई जीवन्त रूपमा प्रस्तुत गर्नेछ’ जितुले भने ।

फिल्ममा वर्षा र जितुसँगै गीता अधिकारी, मान्सी शर्मा, श्याम मगर र मनिल तामाङको पनि अभिनय रहनेछ । फिल्मको कथावस्तुले एक भुइँमान्छेको संघर्ष र जीवनयापनको कथा बोल्ने निर्माण पक्षले जनाएको छ । फिल्मको एक्सन राजु किराँती, संगीत बाबुल गिरी, नृत्य कमल राई र पटकथा तथा संवाद अजित लामिछानेले तयार गरेका छन् । ‘कार्की साइला’ले नेपाली फिल्ममा फरक स्वाद र सामाजिक सन्देश दिने निर्माण टिमको दाबी छ । यो फिल्मको प्रदर्शन मिति भने तय भइसकेको छन् ।
@parikalanewsofficial














Discussion about this post