इटहरी/ नेपाली समाजको यथार्थलाई गहिरो रूपमा चित्रण गर्ने उद्देश्यसहित निर्माण गरिएको फिल्म ‘ऊनको स्वीटर’ को ‘काफ्ले’ बोलको गीत सार्वजनिक भएको छ । काठमाडौंको बिग मुभिजमा आयोजित विशेष समारोहमार्फत सार्वजनिक गरिएको यो गीतले फिल्मको जीवन्त परिवेश र पात्रहरूको भित्री संसार उजागर गर्ने प्रयास गरेको छ ।
वैशाख २६ गतेदेखि नेपाल सहित विश्वभर प्रदर्शनमा आउन लागेको यो बहुप्रतीक्षित फिल्मको गीतमा युवराज काफ्लेको शब्द, झुमा लिम्बुको संगीत र झुमा लिम्बु तथा सुजन चापागाईँको स्वर समावेश गरिएको छ भने यो गीत सार्वजनिक समारोहमै यी दुईले प्रत्यक्ष गायन प्रस्तुत गरेका थिए । हेर्नुस् गीतको भिडियो ।
निर्देशक नवीन चौहानले ‘काफ्ले’ शीर्षक केवल गीतकै लागि नभई समाजको एक ऐनाको रूपमा प्रस्तुत गरिएको बताए । उनका अनुसार फिल्ममा अभिनेता विपिन कार्कीले निभाएको ‘धरणीधर काफ्ले’ पात्र निर्माण गर्न काफ्ले थर भएका समुदायको संस्कृति र परिवेशबारे गहिरो अध्ययन गरिएको थियो ।
@parikalanewsofficial
आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर फिल्मका रूपमा आएको ‘ऊनको स्वीटर’ सामाजिक कथामा आधारित यथार्थवादी शैलीमा निर्मित फिल्म हो । यसमा विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा छन् भने विल्सन विक्रम राई, एलेक्स पारस, परीक्षा लिम्बू, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, भावना खपाङ्गी मगरलगायत कलाकारहरूको अभिनय रहेको छ । फिल्मको लेखन तथा निर्देशन नवीन चौहानले गरेका हुन् भने सुरज कटुवाल सह-लेखकका रूपमा छन् । कार्यक्रममा आर्टमाण्डूको परिचय भिडियो पनि प्रस्तुत गरिएको थियो ।














Discussion about this post