इटहरी/ फिल्म ‘कार्साङ’बाट चर्चा कमाएका निर्देशक याम शेर्पाले नयाँ फिल्म ‘मिरमिरे’ निर्माणको घोषणा गरेका छन् । नयाँ वर्ष २०८२ को अवसरमा बैसाख १ गते थिम पोस्टर सार्वजनिक गर्दै उनले यो वर्षभित्रै फिल्म रिलिज गर्ने योजना रहेको खुलाएका छन् । यार्सा फिल्म्सको ब्यानरमा बन्ने यो फिल्मले ग्रामीण परिवेशको सामाजिक कथालाई पर्दामा उतार्नेछ ।
थिम पोस्टरमा बिहानको मिरमिरे उज्यालोमा सूर्यको पहिलो किरणको स्पर्श बोकेर उभिएका एक महिला र एक पुरुष पात्र देखिन्छन् । सूर्यतर्फ फर्किएका यी पात्रले नयाँ सुरुवात र संकल्पको सङ्केत गर्छन्, तर उनीहरूको उद्देश्य भने रहस्यमय छ । पोस्टरले दर्शकमा कौतुहलता जगाए पनि कथाको गहिराइ खुलाइएको छैन ।

फिल्मको कथा र निर्देशन याम शेर्पा स्वयंले सम्हाल्नेछन् । निमु शेर्पा र चोङ्वा लामा शेर्पाको लगानीमा बन्ने यो फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ । रिलिजको मिति तय नभए पनि २०८२ भित्रै दर्शकमाझ आउने निर्माण टिमको दाबी छ ।
@parikalanewsofficial
‘मिरमिरे सामाजिक कथामा आधारित फिल्म हो। हामीले ग्रामीण जीवनको यथार्थलाई पर्दामा उतार्न खोजेका छौँ,’ निर्देशक शेर्पाले भने, ‘कलाकारबारे छिट्टै जानकारी दिनेछौँ।’ उनले ‘कार्साङ’को अनुभवबाट सिकेर दर्शकको मन जित्ने फिल्म बनाउने प्रतिबद्धता व्यक्त गरे । ‘हामीले कमजोरी सुधारेर दर्शकले रुचाउने कथा पस्कनेछौँ । ‘कार्साङ’लाई जस्तै ‘मिरमिरे’लाई पनि माया गर्नुहुनेछ भन्ने विश्वास छ,’ उनले थपे ।















Discussion about this post