इटहरी/ नेपाली फिल्म उद्योगका चर्चित नायक पल शाह अब फिल्म निर्माताको रूपमा नयाँ पाइला चाल्ने भएका छन् । नयाँ वर्ष २०८२ को अवसरमा उनले आफ्नो पहिलो निर्माण रहने फिल्म ‘यानीमाया’को घोषणा गरेका छन् । यो फिल्मलाई उनले आफ्नै नामको कम्पनी पल शाह फिल्म्सको ब्यानरमा निर्माण गर्ने बताएका छन् ।
‘यानीमाया’लाई प्रतिभाशाली लेखक विकास सुवेदीले निर्देशन गर्दैछन्, जसले यसअघि ‘प्रकाश’, ‘पुजार सार्की’ र ‘महाभोज’ जस्ता सामाजिक कथामा आधारित फिल्मका लागि कथा लेखेका थिए । यो फिल्मबाट विकासले निर्देशकको रूपमा पहिलो पाइला चाल्दै छन् । फ्यामिली ड्रामामा आधारित यो फिल्मको स्क्रिप्ट पनि उनैले लेखेका हुन् ।
@parikalanewsofficial
विकासले आफ्नो विशिष्ट शैलीमा दर्शकको मन जित्ने फिल्म बनाउने प्रतिबद्धता जनाएका छन् । पल शाहले ‘यानीमाया’ मार्फत फिल्म निर्माण क्षेत्रमा प्रवेश गर्न पाउँदा उत्साहित भएको बताए । “पल शाह फिल्म्सलाई दर्शकको माया र साथले यहाँसम्म ल्याएको छ । अब निर्माताको रूपमा पनि त्यही माया र विश्वास पाउने अपेक्षा गरेको छु,” उनले भने ।
फिल्मको छायांकन आगामी असारबाट सुरु हुने निर्माण पक्षले जनाएको छ । कलाकार छनोटको काम भने अझै बाँकी रहेको निर्देशक सुवेदीले जानकारी दिए । सामाजिक कथावस्तु र भावनात्मक गहिराइ बोकेर आउने ‘यानीमाया’ले नेपाली दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।















Discussion about this post