इटहरी/ नयाँ बर्ष २०८२ को पहिलो दिन नेपाली फिल्म क्षेत्रका लागि पनि उत्साहजनक बन्यो, किनभने यही दिन अर्को एक नयाँ फिल्म ‘पुष्पलता’को औपचारिक घोषणा गरिएको छ । ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनको ब्यानरमा बन्न लागेको यो फिल्म सुनील निउरेको लेखन तथा निर्देशनमा तयार हुनेछ । ‘पुष्पलता’ लभ स्टोरी जनरामा बन्ने फिल्म हो तर यो पारम्परिक प्रेमकथाबाट भिन्न हुनेछ भन्ने दाबी निर्देशक निउरेको छ ।
पटकथाकार तथा सहायक निर्देशकको भूमिकामा थुप्रै फिल्ममा अनुभव बटुलिसकेका निउरेले यही फिल्मबाट आफ्नो निर्देशन यात्राको सुरुवात गर्दैछन् । फिल्मको दुईवटा थिम पोस्टर सार्वजनिक गरिएका छन् जसले यसलाई प्रेममूलक कथामा आधारित भएको संकेत गर्छन् । यद्यपि फिल्ममा को-को कलाकार रहनेछन् भन्ने विषयमा भने निर्माण टिमले अहिले खुलाएको छैन ।

फिल्मको कास्टिङ डाइरेक्टर संजोग रसाइली छन् भने हर्क साउदको शब्दमा शुशान्त गौतम, प्रशान्त शिवाकोटी र जयन जे वाइवाको संगीत रहनेछ । प्रोडक्सन डिजाइन प्रकाश हमालले सम्हाल्नेछन् । लभ स्टोरी र पारिवारिक भाव बोकेको यो फिल्मको छायांकन आगामी भदौमा सुरु हुने तयारी छ ।
@parikalanewsofficial
ड्रेस डिजाइनको जिम्मा बोनिका कार्की र रीत खड्काले लिएका छन् । अन्य प्राविधिक टिम तथा कलाकारहरूको नाम भने पछि खुलाउने ॐ वायुपुत्र फिल्म्स् प्रोडक्सनले जानकारी दिएको छ । नेपाली फिल्ममा नयाँ ढंगको प्रेमकथा भित्र्याउने लक्ष्यसहित घोषणा गरिएको ‘पुष्पलता’ नयाँ बर्षको पहिलो दिन नेपाली फिल्मप्रेमीका लागि एउटा ताजा उपहार बनेको छ ।















Discussion about this post