इटहरी/ च्याब्रुङको धुनमा रमाउँदै दयाहाङ राई पुनः पर्दामा देखिने भएका छन् । नयाँ वर्ष २०८२ को सुरुवातसँगै चर्चित फिल्म ‘जारी’को सिक्वेल ‘जारी २’ को निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षको अवसर पारेर सार्वजनिक गरिएको फस्टलुक पोस्टरमार्फत फिल्मको घोषणा गरिएको हो, जसमा दयाहाङ राई च्याब्रुङ बजाउँदै प्रस्तुत भएका छन् ।
‘सङ अफ च्याब्रुङ’ भन्ने स्लोगन राखिएको यो फिल्ममा पहिलो भागका मुख्य कलाकारहरू दयाहाङ राई, विजय बराल र मिरुना मगर पुनः देखिनेछन् । लेखक तथा निर्देशक उपेन्द्र सुब्बाले नै यस सिक्वेलको पनि लेखन तथा निर्देशन सम्हाल्नेछन् । सुब्बाको निर्देशनमा बनेको पहिलो फिल्म ‘जारी’ ले १७ करोडभन्दा बढीको व्यापार गर्दै नेपाली बक्स अफिसमा इतिहास रचेको थियो ।

फिल्म यही वर्षको दशैंमा प्रदर्शनमा आउने समेत पक्का भएको छ । बैशाखको तेस्रो साताबाट फ्लोरमा जान लागेको फिल्ममा मुख्य तीन कलाकारसँगै ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय रहनेछ ।
@parikalanewsofficial
‘बाँसुरी फिल्मस्’ र ‘कबड्डी फिल्मस्’को संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्मका निर्माता रामबाबु गुरुङ हुन् । फिल्मको सम्पूर्ण छायांकन कोशी प्रदेशको पाँचथरका विविध पर्यटकीय गन्तव्यहरूमा गरिने बताइएको छ । सांस्कृतिक गहिराइ र समाजको कथा बोकेको ‘जारी २’ दर्शकका लागि अझ प्रवल अनुभूति र सन्देश लिएर आउन लागेको संकेत पोस्टरमार्फत नै देखिएको छ ।















Discussion about this post