इटहरी/ सुरक्षा पन्त, आर्यन सिक्देल र ऋचा शर्मा अभिनीत फिल्म ‘कोशेढुंगा’ अहिलेदेखि नै चर्चामा छ । सर्वकालीन ब्लकबस्टर फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ मार्फत नयाँ उचाइ चुमेका निर्देशक सरोज पौडेलको यो दोस्रो निर्देशन भएकाले पनि फिल्मप्रति आम चासो र अपेक्षा बढेको हो । स्याङ्जाको आधिखोला, त्रिवेणी र सिरुवारीजस्ता स्थानमा पछिल्लो एक महिनादेखि धमाधम छायांकन भइरहेका ‘कोशेढुंगा’ को सेटमै अनलाइन सम्पादनसमेत भइरहेको कार्यकारी निर्माता दिनेश खड्काले जानकारी दिए ।
“जुन हिसाबले काम भइरहेको छ, त्यो हाम्रो अपेक्षाभन्दा पनि राम्रो देखिएको छ । कलाकार र प्रविधिकको मिहिनेतले हामी सेटमै बसेर दर्शकलाई केही विशेष दिन सक्नेमा ढुक्क छौं,” खड्काले भने । स्याङ्जा जिल्लाको वडा र पालिकाबाट प्राप्त सहयोगले छायांकन सहज भएको बताउँदै खड्काले, “’पूर्ण बहादुरको सारङ्गी’ले करिब ४७ करोड कमाएर इतिहास रच्यो । त्यही अनुभव र ऊर्जा लिएर हामी ‘कोशेढुंगा’ मा झनै मजबुत ढंगले लागिरहेका छौं,” भने ।
@parikalanewsofficial
‘कोशेढुंगा’को छायांकन करिब एक हप्तासम्म च्यासलस्थित सेटमा गरी बाँकीको कामका लागि निर्माण टिम स्याङ्जा गएको थियो । अबको एक साताभित्र सम्पूर्ण छायांकन सकिने योजना रहेको कार्यकारी निर्माताले बताएका छन् । नरदेवी फिल्म्सको प्रस्तुति रहेको यस फिल्ममा सुरक्षासँगै आर्यन सिक्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, सरोज खनाल, विशाल पहाडी, लोकमणि सापकोटा, हिउवाला गौतम, सिर्जना अधिकारी, शेखर चापागाई, दिनेश काफ्ले, सिरु विष्ट, स्नेहा जोशी, सुबलमणि सापकोटा, सविता रेग्मी लगायत कलाकारहरूको अभिनय देख्न पाइनेछ ।
फिल्मको छायांकन बाबु श्रेष्ठले गरिरहेका छन् भने सम्पादन सुरेन्द्र पौडेलले गर्दैछन् । गीतमा रिदम कँडेल र आशिष अविरलको संगीत रहने छ भने कास्टिङ डिरेक्टर सुबलमणि सापकोटा हुन् । निर्माता प्रेविल कँडेल र किशोर अनुराग रहेको फिल्मको कार्यकारी निर्माता दिनेश खड्का हुन् । २०८२ सालमा प्रदर्शन गर्ने लक्ष्य राखिएको ‘कोशेढुंगा’ ले औपचारिक रिलिज मिति भने अझै घोषणा गरिसकेको छैन । तथापि, फिल्मको कथा, लोकेशन र निर्माण टोलीको लगाव हेर्दा यो फिल्मले दर्शकको अपेक्षा पुरा गर्ने बलियो सम्भावनामा देखिन्छ ।















Discussion about this post