इटहरी/ नेपाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित फिल्म ‘अञ्जिला’ रिलिजको पाँचौँ हप्तामा प्रवेश गर्दा पनि दर्शकमाझ यसको क्रेज कम भएको छैन । काठमाडौंसहित देशभरका झन्डै ५० हलमा प्रदर्शन भइरहेको यो फिल्मका अधिकांश शोहरूमा उल्लेख्य दर्शक उपस्थिति देखिएको छ । गत फागुन २९ पछि नेपाली र विदेशी गरी दर्जनभन्दा बढी फिल्महरू प्रदर्शनमा आए पनि ‘अञ्जिला’को व्यापारमा खासै असर परेको छैन ।
बलियो कथा, सशक्त निर्देशन र प्रभावशाली अभिनयका कारण यो फिल्म नेपाली बक्स अफिसमा निरन्तर टिकिरहन सफल भएको छ । निर्देशक मिलन चाम्सले एन्जिलाको जीवनयात्रा दर्शकसँग भावनात्मक रूपमा जोडिन सकेको बताए । “एन्जिलाले भोगेको संघर्ष हाम्रै समाजको कहानी हो,” उनले भने, “यही कारणले फिल्मले दर्शकमाझ गहिरो सम्बन्ध बनाएको छ ।” चाम्सले अझै केही हप्ता फिल्मलाई प्रदर्शनमा राख्ने तयारी भइरहेको समेत जनाएका छन् ।
@parikalanewsofficial
एन्जिला आफैँले मुख्य भूमिका निर्वाह गरेको यस फिल्ममा प्रेमकुमार श्रेष्ठ, सुनिल थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, सुमीन गुरुङ र बुद्धि तामाङ जस्ता कलाकारहरूको दमदार अभिनय देख्न पाइन्छ । गत वर्षको अन्त्यतिर रिलिज भएको यो फिल्मले कमाईका हिसावले हालसम्म उत्कृष्ट पाँच नेपाली फिल्मको सूचीमा आफ्नो स्थान सुरक्षित गर्न सफल भएको छ । दर्शकको लगातार समर्थनले ‘अञ्जिला’लाई लामो समयसम्म प्रदर्शनमा टिक्ने संकेतसमेत दिएको छ ।















Discussion about this post