इटहरी/ फिल्म ‘नरसिंहाः अवतार’को रिलिज मिति नजिकिँदै गर्दा फिल्मको प्रमुख अभिनेत्री नीति शाहको पहिलो लुक्स सार्वजनिक गरिएको छ, जसले दर्शकको उत्साह अझै बढाएको छ । आगामी जेठ ९ गते रिलिज हुन लागेको यो प्रतिक्षित फिल्ममा नीति एक फरक अवतारमा देखिने भएकी छन् । सार्वजनिक फस्टलुकमा उनी हल्का मुस्कानसहित प्रस्तुत भएकी छन्, जसले उनलाई कसैकी श्रीमती वा प्रेमिकाको भूमिकामा देखाउने संकेत गर्छ ।
तर, उनको जोडी कोसँग बाँधिएको हो भन्ने चाहिँ अझै खुलाइएको छैन । पछिल्लो समय फिल्म निर्माण युनिटले प्रचारप्रसार स्वरूप फिल्मका कलाकारहरूको क्यारेक्टर पोष्टर एकपछि अर्को गर्दै सार्वजनिक गरिरहेको छ । अभिनेत्री नीति शाह आफैं पनि फिल्मलाई लिएर निकै उत्साहित छिन् । उनले फिल्ममा नायक राजेश हमालसँग स्क्रिन शेयर गर्न पाएकोमा खुसी व्यक्त गर्दै यो अवसरबाट धेरै कुरा सिक्न पाएको बताएकी छन् ।
@parikalanewsofficial
दिवाकर भट्टराइको लेखन तथा निर्देशनमा तयार भएको फिल्ममा राजेश हमालसँगै निर शाह, राज कटुवाल, प्रशान्त ताम्राकार, सरोज खनाल, उषा खड्गी, सनिषा भट्टराई, दीपा शाही, रमेश चन्द सोडारी र राजिव जंग बस्नेत समेतको अभिनय रहेको छ ।

फिल्ममा चन्द्र पन्तको कथा, राजु विक्रम थापाको छायांकन, राजु लामाको एक्सन रहेको छ । यस्तै शम्भुजित बाँस्कोटा र अर्जुन पोखरेलको संगीत र कविराज गहतराजको कोरियोग्राफी समावेश गरिएको छ । फिल्ममा दीपक ढकाल, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने र नेम महर्जनको लगानी छ । दर्शकमाझ फिल्मको प्रतिक्षा उच्च छ, जसले गर्दा ‘नरसिंहाः अवतार’ले बक्स अफिसमा शानदार ओपनिङ गर्ने प्रबल सम्भावना देखिएको छ ।















Discussion about this post