इटहरी/ ‘कर्णाली ब्लुज’ जस्ता कालजयी कृति लेखेका साहित्यकार बुद्धिसागरको कथामा आधारित भएर बनेको फिल्म ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । निर्देशक दीपेन्द्र के. खनालको निर्देशनमा बनेको यो फिल्मले डेरा जीवन र त्यससँग गाँसिएका सामाजिक सन्दर्भलाई भावनात्मक र गहिरो शैलीमा चित्रण गर्छ । सार्वजनीक टिजरको सुरुवातमै पशुपतिको किनारमा बसेका दुःखी पात्रहरूबीचको संवादमार्फत कथाले नेपाली समाजको कष्टपूर्ण यथार्थ उठान गरेको छ ।
“दुःख त सबैलाई छ, कसैलाई भन्न पाइन्छ, कसैलाई भन्न पाइँदैन” भन्ने संवादमार्फत मन हलुंगो बनाउने तरिका खोज्ने पात्रहरूले हाम्रो समाजका कैयौं आवाज बन्न खोजेका छन् ।खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, आर्यन सिग्देल, उपासना सिंह ठकुरी लगायतका कलाकारहरूको अभिनय रहेको फिल्मको सार्वजनीक टिजरले फिल्मलाई प्रतिक्षित बनाउन मद्धत पुग्छ । हेर्नुस् टिजर ।
काठमाडौंजस्ता सहरमा गाउँबाट आएका मानिसहरूको बसाईको कथा-घरजस्तो देखिए पनि वास्तवमा डेरामै सीमित जीवन, यिनै विषयवस्तु फिल्मको मूल सन्देश बनेको छ । टिजरले पृथ्वीलाई एउटा डेराको रूपमा प्रस्तुत गर्दै “यहाँ सबैले भाडा तिर्नुपर्छ” भन्ने मार्मिक सन्देश दिएको छ । पारिवारिक टुटफुट, जीवनको वियोग र मानसिक यातना-यी सबै भावना टिजरमा समेटिएको छ, जसले दर्शकको मन छुने पक्का छ ।
यसअघि निर्माण टिमले मुख्य कलाकारहरूलाई केन्द्रमा राख्दै तीनवटा पोस्टर सार्वजनिक गरिसकेको थियो । ‘के घर के डेरा : घर नं २’ जेठ २ गते प्रदर्शनमा आउनेछ । फिल्मको निर्माण एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट र नटराज क्रिएसनको व्यानरमा भएको हो । नकिम उद्दिन, शरद श्रेष्ठ र किरण महर्जन यो फिल्मको निर्माता रहेका छन् भने युवराज कार्की कार्यकारी निर्माताको रूपमा छन् । छायांकन कृष्णबहादुर थापाले गरेका छन् ।















Discussion about this post