इटहरी/ रेड एन्ड डार्क थिमको रहस्यमय पोस्टरसँगै नयाँ फिल्म ‘द महावीर’ को निर्माण औपचारिक रूपमा घोषणा गरिएको छ । लक्षरा फिल्म्सको प्रस्तुति रहने यो फिल्मलाई जिबी आग्रीले निर्देशन गर्दैछन् । युद्धको पृष्ठभूमिमा आधारित रहेको आभास दिलाउने पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मको कथा गोप्य राखे पनि, फिल्मले द्वन्द्व र विजयको कथा बोकेको स्पष्ट संकेत दिएको छ ।
पोस्टरमा दुई बलिष्ठ घोडाहरु दौडिरहेका छन्, उनीहरूका सवारहरू आमने-सामने भिड्ने तयारीमा छन् । बीचमा रातो कपडाले बेरिएको ठूलो तरवार कसैले उठाउन खोजिरहेको देखिन्छ-यो दृश्यले युद्धको तीव्रता र महत्त्व दर्शाउँछ । फिल्मको स्लोगन पनि त्यसैको संकेत हो ‘राइज, फाइट, कन्क्वेर’ अर्थात् उठ, लड र जित । फिल्मको कथा निर्देशक जिबी आग्री र कृष्ण बिकेले संयुक्त रूपमा लेखेका हुन् । निर्माण टोलीमा कृष्ण बिके, बीआर रेड्डी र सन्तोष लुहार रहेका छन् भने सह-निर्माताको रूपमा रम्भा देवी र लक्ष्मण बिके रहनेछन् ।

कार्यकारी निर्माताको जिम्मेवारी वरिष्ठ संगीतकार सुरेश अधिकारीले लिएका छन् । फिल्मको छायांकन सरण रिसीले गर्नेछन् । ‘द महावीर’ नेपाली र हिन्दी भाषामा निर्माण गरिनेछ, जसमा डल्बी एटमस साउन्ड प्रणाली प्रयोग गरिने जानकारी पनि दिइएको छ । कलाकारहरूको नाम र रिलिज मिति भने सार्वजनिक गरिएको छैन । निर्देशक आग्री भन्छन्, “हामी केही समयपछि कलाकार र रिलिज डेटबारे जानकारी दिनेछौँ । हाम्रो लाइनअप निकै बलियो र अनपेक्षित हुनेछ।”















Discussion about this post