इटहरी/ गाउँदेखि सहर झरेका एक साधारण मानिसको जीवनमा आइपरेका अनपेक्षित मोड र आमा-छोराबीचको भावनात्मक सम्बन्धको कथा बोकेको नयाँ नेपाली फिल्म ‘जनै हराएको बाहुन’को भव्य शुभमुहूर्त आज काठमाडौंको बुढानीलकण्ठ मन्दिर परिसरमा सम्पन्न भएको छ । शुभमुहूर्त कार्यक्रममा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिएका थिए ।
निर्माण टिमले भोलिदेखि काभ्रेको पनौतीबाट औपचारिक छायांकन सुरु हुने जानकारी दिएको छ । यसअघि स्क्रिप्ट पूजासमेत सम्पन्न भइसकेको थियो । यस फिल्मबाट निर्देशकको रुपमा हिमाल न्यौपानेले डेब्यु गर्दैछन् । यो फिल्ममा विजय बराल, केकी अधिकारी, रियर राईसहित मिरुना, सुशांक, गौरव र भोलाराज मुख्य भूमिकामा देखिनेछन् । ‘जनै हराएको बाहुन’को कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका हुन् ।
शुभमुहूर्तपछि मिडियासँग संक्षिप्त कुराकानी गर्दै अभिनेत्री मिरुनाले आफ्नो भूमिका विशेष रहेको बताउँदै सम्पूर्ण टिमलाई धन्यवाद दिइन् । त्यस्तै, ‘टलकजङ भर्सेज टुल्के’पछि दशक लामो अन्तरालमा फेरि स्क्रिनमा फर्किन लागेका अभिनेता सुशांक मैनालीले पनि टिमप्रति उत्साह व्यक्त गरे । फिल्मका असोसियट निर्देशक ‘प्रेमगीत ३’का अभिनेता मनिष राउत हुन्, जसले यस फिल्ममा नेपाली समाजका भावनात्मक सम्बन्धहरू समेटिएको बताएका छन् ।
पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने यो फिल्मका निर्माता विमल न्यौपाने हुन् भने कार्यकारी निर्मातामा कमल न्यौपाने, नारायण तिम्सिना, चुरामणी शिवाकोटी, रुपेश लामा र आरके मानन्धर छन् । ४० दिनको सेड्युलमा खिचिने यो फिल्मका छायाँकार नवीन गुरुङ रहनेछन् भने प्रोडक्सन म्यानेजरमा लक्ष्मणराज पौडेल छन् । थानेश्वर गौतम र एस डि योगीको संगीत समावेश हुने फिल्ममा सहर पस्दा परम्परा, मूल्य र मान्यताबीचको द्वन्द्वलाई कथामा उत्राउने प्रयास गरिएको बताइएको छ । ‘जनै हराएको बाहुन’ पाल्पा र काठमाडौंका विभिन्न लोकेसनमा खिचिनेछ ।















Discussion about this post