इटहरी/ चितवनको सुन्दर परिवेशमा छायांकन गरिएको पारिवारिक सामाजिक फिल्म ‘हर्ष’को छायांकन ३५ दिनमा पूरा भएको छ । अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा राउतको प्रमुख भूमिका रहेको यो फिल्ममा डेब्यु निर्देशक एकता पौडेलको निर्देशनमा निर्माण भइरहेको हो । निर्देशक पौडेलले सुरुवातमा ४० दिनको सेड्युल बनाए पनि टिमको उत्साहजनक सहभागिता र योजनाबद्ध कामले निर्धारित समयभन्दा ५ दिनअघि नै छायांकन सकिएको जानकारी दिइन् ।
उनका अनुसार सम्पूर्ण छायांकन चितवनमै सम्पन्न गरिएको हो, जसमा समावेश पाँचवटै गीतको छायांकनसमेत यही अवधिमा सकिएको हो । “हाम्रो टिमले शतप्रतिशत दिन्छ भन्ने लक्ष्यसहित काम गर्यो, जसको नतिजा समयमै उत्कृष्ट ढंगले छायांकन पूरा गर्न सक्यौं,” पौडेलले भनिन् । ‘हर्ष’मा खगेन्द्र र वर्षासँगै सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, सुवर्ण थापा, श्रृष्टि महर्जन र संगीता नापितको अभिनय रहनेछ । फिल्ममा पारिवारिक र सामाजिक कथामा आधारित छ, जसको कथा निर्देशक पौडेल स्वयंले लेखेकी हुन् ।
शिव रेग्मीकी भान्जी समेत रहेकी पौडेलले न्यूयोर्क फिल्म एकेडेमीबाट फिल्म मेकिङ अध्ययन गरेकी छन् । आमसञ्चारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी उनले यसअघि केही छोटा फिल्महरू निर्देशन गरिसकेकी छन् । ‘हर्ष’लाई आलोक शुक्लाले छायांकन गर्दैछन् भने संगीत वसन्त सापकोटा र एलिश कार्कीले भरेका छन् ।
लोकेश बज्राचार्यको सम्पादन र सुनिल क्षेत्रीको कोरियोग्राफी रहने यो फिल्म ई-प्राइम मुभिज र अष्टलक्ष्मी प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भइरहेको हो । फिल्मका निर्माता प्रशन्न पौडेल र विकास पौडेल (चितवन) हुन् भने कार्यकारी निर्माता हिक्मत चोखल (चितवन) रहेका छन् । फिल्मको प्रदर्शन मिति भने अझै तय गरिएको छैन । पोस्ट प्रोडक्सन सकिएपछि मात्र मिति घोषणा गरिने निर्माण टिमले जनाएको छ ।















Discussion about this post