इटहरी/ नेपालको मौलिक कथा, संस्कृतिमा आधारित फिल्मले दर्शकको मन जित्न थालेको आजको समयमा ‘खुस्मा’पछि निर्देशक अशोक थापा मगर फेरि एकपटक नयाँ कथासहित पर्दामा फर्कंदैछन् । संविधान दिवसको अवसर पारेर गत असोज ३ गते प्रदर्शनमा आएको हिट फिल्म ‘खुस्मा’को सफलतालाई पछ्याउँदै अब ‘जलाकी’ नामक नयाँ फिल्मको औपचारिक घोषणा गरिएको छ ।
शुक्रबार पोखराको बिन्ध्याबासिनी मन्दिरमा टाइटल मोसन पोस्टर तथा भिडियो सार्वजनिक गर्दै निर्माण घोषणासँगै ‘जलाकी’को शुभ मुहूर्त गरिएको थियो । यो फिल्मको पहिलो दृश्यको छायांकन बागलुङको कालिका भगवती मन्दिरमा सुरु गरिएको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित यस फिल्ममा ‘शाम्बाला’ फेम्ड अभिनेता सोनाम तोप्देन, उपासना सिंह ठकुरी, अस्तित्व भट्टचन र मोडल आकृति राजभण्डारी मुख्य भूमिकामा छन् । चर्चित गायक सुशान्त केसीको गीत ‘बार्दली’बाट चर्चा कमाएकी आकृतिको यो डेब्यु फिल्म हो ।

‘जलाकी’ शब्द मगर समुदायमा प्रेम, सम्झना र आस्थाको प्रतीक ढुंगाको स्तम्भलाई जनाउने गरिन्छ । यो भावना बोकेको फिल्ममा मगर र गुरुङ समुदायको संस्कृतिलाई विशेष स्थान दिइने निर्देशक अशोकले बताएका छन् । फिल्मको छायांकन रुकुम, म्याग्दी, बागलुङ, पोखरा हुँदै दक्षिण कोरियासम्म तीन चरणमा गरिने योजना छ । एम मिडिया प्रालिको ब्यानरमा बन्ने ‘जलाकी’का निर्माता ओम घर्ती मगर, वीर बहादुर लामा, चन्द्र बहादुर भट्टचन, बेताने मगर (बबिता राना), मान बहादुर धनाह मगर र सुस्मिता बुढाथोकी रहेका छन् ।

फिल्मको अन्य कलाकारहरूमा माओत्से गुरुङ, बुद्धि तामाङ, संगीता थापा मगर, राजु रेग्मी मगर, खड्ग बहादुर पुन (खबपु) रहेका छन् भने केही कलाकारको कास्टिङ प्रक्रिया जारी रहेको निर्माण टिमले जनाएको छ । फिल्ममा शैलेन्द्र डी. काकीको छायांकन, राजु रेग्मी मगरको लाइन प्रोडक्सन, महेश बराल मुख्य सहायक निर्देशक, संगीतमा एसडी योगी र सरित राई तथा गीतमा सुरेन्द्र राना र राम अविरल विष्ट रहनेछ । निर्देशक अशोक थापा मगरको ‘खुस्मा’ फिल्मको गीत ‘रुकुम मैकोट’ युट्युबमा ५ महिनामै १० करोड भ्युज पार गर्दै ऐतिहासिक रेकर्ड बनाएको थियो । अब ‘जलाकी’ले त्यो सफलता दोहोर्याउन सक्ने अपेक्षा गरिएको छ ।















Discussion about this post