इटहरी/ निर्देशक दीपेन्द्र के. खनाल र लेखक बुद्धिसागरको बहुप्रतीक्षित फिल्म ‘के घर के डेरा : घर नं २’ अब एक साता अगाडि, जेठ २ गते प्रदर्शनमा आउने भएको छ । पहिले जेठ ९ गतेका लागि घोषणा गरिएको मिति सार्दै निर्माण पक्षले तीनवटा नयाँ पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक पोस्टरहरूले फिल्मको कथावस्तु र पात्रहरूको मनोभाव प्रस्टसँग झल्काएका छन् । एक पोस्टरमा निश्चल बस्नेतलाई हतारिंदै दौडिरहेको अवस्थामा देखाइएको छ, जसले तनाव र अफ्ठ्यारो परिस्थितिलाई इंगित गर्छ ।
अर्काे पोस्टरमा खगेन्द्र लामिछाने र उपासना सिंह ठकुरी रोमान्टिक अन्दाजमा देखिएका छन्, जसले कथामा प्रेमको रङ पनि मिसिएको संकेत गर्छ । तेस्रो पोस्टरमा भने तीन तले घरको झ्यालबाट फिल्मका मुख्य पात्रहरू झुल्किएका छन्, जसले कथामा समेटिएको पारिवारिक र सामाजिक विविधता झल्काउँछ । बुद्धिसागरले ‘कर्नाली ब्लुज’, ‘फिरफिरे’ र ‘एक्लो’ जस्ता चर्चित उपन्यासमार्फत साहित्य क्षेत्रमा गहिरो छाप छोडिसकेका छन् ।

‘के घर के डेरा : घर नं २’ भने उनको पहिलो पटक लेखिएको स्क्रिनप्ले हो, जुन उनको शब्दशैलीलाई सजीव अभिनयमा उतार्ने कोशिस गरिएको बताइएको छ । फिल्ममा आर्यन सिग्देल, खगेन्द्र लामिछाने, निश्चल बस्नेत, केकी अधिकारी, उपासना सिंह ठकुरी, प्रकाश घिमिरे, सृजना नापित, सन्जोग रसाइली र रुबिना घिमिरे लगायतका कलाकारहरूको अभिनय रहेको छ । भावनात्मक उतारचढाव, हास्यरस र पारिवारिक सन्देशले भरिएको यो फिल्म अहिलेबाटै दर्शकमाझ चासोको विषय बन्दै गएको छ ।

















Discussion about this post