इटहरी/ नेपाली फिल्म ‘कर्मा’को बहुप्रतीक्षित ट्रेलर बिहीबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममार्फत सार्वजनिक भएको छ । एक्सन, ड्रामा र सस्पेन्सले भरिएको यो फिल्मको ट्रेलरले दर्शकमाझ कर्मलाई अझै प्रतीक्षित बनाएको छ । सार्वजनीक ट्रेलरमा मुख्य कलाकारहरू विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल र सरिता गिरीको दमदार अभिनय देख्न सकिन्छ ।
ट्रेलरले भ्रष्ट र निर्दयी समाजले एक साधारण युवालाई कसरी अपराध र प्रहरी कष्टडीसम्म पुर्याउँछ भन्ने कथा प्रस्तुत गरेको छ । प्रेम, मातृत्वको आशीर्वाद र समाजको क्रूरताको संयोजनले ट्रेलरले फिल्मको गहिरो कथावस्तुलाई संकेत गरेको छ । निर्देशक सौरभ चौधरीले ‘कर्मा’मार्फत पैसा र शक्तिको पछाडि दौडने समाजको चित्रण गर्दै एक्सनको आधारमा एउटा प्रभावशाली कथा भन्ने प्रयास गरेका छन् । हेर्नुस् ट्रेलर।
विपीन कार्कीलाई एक्सन अवतारमा प्रस्तुत गरिएको यो फिल्ममा दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्मालगायतका कलाकारहरूको पनि अभिनय रहेको छ । नयाँ वर्ष २०८२ को अवसर पारेर ‘कर्मा’ यही चैत २९ गते नेपाल र अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शन हुने तयारीमा छ । सेभेन सिज सिनेमाले यसको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरेको छ ।
फिल्मको कथा स्वयं निर्देशक चौधरीले लेखेका हुन् भने भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व निर्देशन र निमेष श्रेष्ठको सम्पादनले ‘कर्मा’लाई थप आकर्षक बनाएको छ । आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहेको यो फिल्ममा वसन्त लम्सालको लगानी रहेको छ । यसअघि निर्देशक चौधरीको ‘अगस्त्यः च्याप्टर १’ले दर्शक र समीक्षकबाट प्रशंसा बटुलेको थियो । ‘कर्मा’ले पनि त्यस्तै प्रभाव छाड्ने अपेक्षा गरिएको छ ।















Discussion about this post