इटहरी/ नयाँ वर्ष २०८२ को आगमनलाई भव्य रूपमा स्वागत गर्न भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्सले ‘न्यु इयर इभ एट जर्मन होम्स विथ राम कृष्ण ढकाल’ नामक विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । यो साङ्गीतिक उत्सवमा नेपालका प्रख्यात गायक राम कृष्ण ढकाल एण्ड ब्याण्डको लाइभ प्रस्तुति मुख्य आकर्षण बन्नेछ भने अन्य राष्ट्रिय कलाकारहरूले पनि आफ्नो कला प्रस्तुत गर्नेछन् ।
चैत ३१ गते साँझ ६ बजेदेखि सुरु हुने यो कार्यक्रम मध्यरात १२ बजेसम्म जारी रहनेछ । चर्चित उद्घोषिका तथा नायिका रीमा विश्वकर्माले सञ्चालन गर्ने यो इभेन्टमा सङ्गीतका साथै कमेडी, साल्सा नृत्य र डीजे सेसनले दर्शकलाई भरपूर मनोरञ्जन प्रदान गर्नेछ । जर्मन शैलीको नयाँ आर्किटेक्चरमा निर्मित भव्य हलको उद्घाटन समेत समेटिएको यो कार्यक्रममा १५०० देखि २००० दर्शक सहभागी हुने अपेक्षा गरिएको छ ।

टिकट बुकिङ चैत २२ गतेदेखि खल्ती एपमार्फत खुला हुनेछ भने ढोकामा पनि टिकट किन्न सकिने व्यवस्था छ । सहभागीहरूमध्येबाट एक जनाले थाइल्यान्ड ट्रिप जित्ने अवसर पाउनेछन् भने अन्य आकर्षक उपहारहरू पनि वितरण गरिनेछ । जर्मन होम्सका कार्यकारी निर्देशक राजन कार्कीले यो कार्यक्रममार्फत २०८१ लाई बिदाइ गर्दै २०८२ लाई उत्साहजनक रूपमा स्वागत गर्ने योजना रहेको बताए ।
“सबै संगीतप्रेमी र उत्सव मनाउन चाहनेहरूलाई यो अवसरमा सहभागी भएर रमाइलो गर्न हार्दिक निम्ता दिन्छौं,” उनले भने । आयोजक टिमले कार्यक्रमलाई अविस्मरणीय बनाउन व्यापक तयारी गरिरहेको छ । विगत ४ वर्षदेखि गठ्ठाघरमा सञ्चालित जर्मन होम्स हस्पिटालिटीले १५०० जना अट्ने बलरुम, आधुनिक होटेल रुम र इनडोर-आउटडोर सुविधासहित उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ । यो कार्यक्रमले जर्मन होम्सको गरिमालाई थप उचाइमा पुर्याउने विश्वास गरिएको छ ।















Discussion about this post