इटहरी/ नेपाली फिल्म क्षेत्रको गर्विलो पाना बनेको फिल्म ‘अञ्जिला’ प्रदर्शनको चौथो हप्तामा पनि उत्तिकै बलियो उपस्थिति जनाउँदै दर्शकको माया बटुलिरहेको छ । गएको फागुन २९ गतेबाट हलमा प्रदर्शन सुरु भएको यो फिल्मले सुरुदेखि नै दर्शकको ध्यान तानेको थियो र चौथो हप्तासम्म पुग्दा पनि यसको लोकप्रियता घट्नुको साटो झन् चुलिदै गइरहेको छ । हाल यो फिल्मले देशभरका हलहरूमा उच्च संख्यामा शो पाइरहेको छ ।
रिलिजको पहिलो दिनको तुलनामा आज ‘अञ्जिला’ले दोब्बरभन्दा बढी शो हासिल गरेको छ, जुन नेपाली फिल्मका लागि दुर्लभ उपलब्धि हो । यो क्रममा ‘अञ्जिला’ले बलिउडको चर्चित सुपरस्टार सलमान खान अभिनीत ‘सिकन्दर’लाई समेत उछिनेको छ । ‘सिकन्दर’ले समीक्षा र दर्शकको प्रतिक्रियामा कमजोर प्रदर्शन गरेपछि ‘अञ्जिला’ले त्यसको फाइदा उठाउँदै आफ्नो दबदबा कायम गरेको छ ।
देशभरका हलले दिएको शो संख्याको हिसाबले ‘सिकन्दर’ अझै अगाडि देखिए पनि अग्रिम बुकिङमा ‘अञ्जिला’ले ठूलो अग्रता लिएको छ । दर्शकको उत्साह र टिकटको मागले यो फिल्मको प्रभाव अझै कायम रहेको स्पष्ट हुन्छ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान एन्जिला तुम्बापो सुब्बाको संघर्ष र सफलताको कथामा आधारित यो फिल्ममा एन्जिला स्वयंले मुख्य भूमिका निभाएकी छिन् ।
उनको जीवन्त अभिनयले दर्शकलाई भावुक बनाउनुका साथै प्रेरित पनि गरेको छ । ‘अञ्जिला’मा एन्जिलासँगै दयाहाङ राई, सिर्जना सुब्बा, प्रेमकुमार श्रेष्ठ, सुनील थापा, विजय बराल, माओत्से गुरुङ, सुमीन गुरुङ र बुद्धि तामाङजस्ता प्रतिभाशाली कलाकारहरूको अभिनयले कथालाई थप गहिराइ दिएको छ । खेलाडीको जीवनबाट प्रेरित यो फिल्मले नेपाली फिल्म उद्योगमा नयाँ आयाम थपेको छ भने दर्शकलाई मनोरञ्जनसँगै प्रेरणाको सन्देश पनि दिइरहेको छ ।















Discussion about this post