इटहरी/ बलिउड र दक्षिण भारतीय फिल्महरूको नेपाली रिलिजमा सक्रिय निर्माता दीपक लम्सालले अब नेपाली फिल्म निर्माणमा होमिने भएका छन् । उनले निर्माण कम्पनी रियल इन्टरटेनमेन्टको ब्यानरबाट नयाँ फिल्म ‘हे माया’ निर्माणको घोषणा गरेका छन् । यस फिल्मको निर्देशन भर्खरै प्रदर्शनमा आएको फिल्म ‘ताण्डवम्’ का निर्देशक जुनीम गहतराजले गर्ने फाइनल भएको छ । फिल्म ‘हे माया’को यतिबेला प्री-प्रोडक्सनमा निर्माण युनिट जुटिरहेको छ ।
फिल्मका लागि कलाकारहरु संग मौखिक सहमति भइसकेको छ । तर, चाँडै कागजी सम्झौता हुनेछ र कलाकारहरुलाई सार्वजनीक गर्ने निर्माताको तयारी छ । निर्माता लम्सालका अनुसार, फिल्ममा चर्चित नेपाली कलाकारहरूको मुख्य भूमिका रहनेछ । आगामी जेठबाट यो फिल्मको छायांकन सुरु हुने बताईएको छ । निर्माता लम्सालले भारतको मुम्बईमा बस्दै बलिउड र दक्षिण भारतीय फिलहरूको नेपाली रिलिज गराउने काम गर्दै आएका छन् । उनको यो नेपाली फिल्ममा पहिलो निर्माण हो ।
निर्देशक गहतराजले ‘ताण्डवम्’ जस्तो एक्शन फिल्मबाट आफ्नो निर्देशन क्षमता देखाएपछि लम्सालले उनलाई नै यस प्रोजेक्टको जिम्मेवारी दिएका हुन् । फिल्मको कथा र संवाद चक्रपाणी सांखीले लेखेका छन्, जसले नेपाली फिल्म जगतमा धेरै चर्चित कृतिहरू दिएका छन् । फिल्मको औपचारिक घोषणा, कास्टिङ्ग र अन्य विवरण नेपाली नयाँ वर्ष सुरु हुँदै सार्वजनिक गरिने निर्माण टोलीले जनाएको छ ।















Discussion about this post