इटहरी/ बहुप्रतीक्षित नेपाली फिल्म ‘पिताम्बर’को ट्रेलर मङ्गलवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमबीच भव्य रूपमा सार्वजनिक भएको छ । एक्सन र भावनाले भरिएको यो ट्रेलरले दर्शकहरूलाई फिल्मको कथावस्तु र कलाकारहरूको अभिनयको झलक प्रस्तुत गरेको छ । ट्रेलरको सुरुवात महिलामाथि हुने हिंसाको गम्भीर परिणामबाट हुन्छ, जसले दर्शकको ध्यान तुरुन्तै आकर्षित गर्छ ।
अभिनेता प्रदीप खड्काको केन्द्रीय भूमिकालाई ट्रेलरले जोड दिएको छ भने दयाहाङ राई र सौगात मल्ल कठोर प्रहरी अधिकारीको चरित्रमा प्रभावशाली देखिएका छन् । यस्तै, अनुपविक्रम शाही, दिव्य देव र प्रमोद अग्रहरी खलनायकको भूमिकामा प्रस्तुत भएका छन् । अभिनेत्रीहरू दिव्या रायमाझी, सुपुष्पा भट्ट र सुरक्षा पन्तको भने ट्रेलरमा सीमित झलक देखाइएको छ, जसले उनीहरूको पात्रप्रति कौतुहलता बढाएको छ । हेर्नुस् ट्रेलर ।
केपी फिल्म्स र पुरुषोत्तम प्रधान फिल्म्सद्वारा निर्मित यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रवीन्द्र झालगायतका चर्चित कलाकारहरूको अभिनय रहेको छ । साथै, बाल कलाकारहरू आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले पनि आफ्नो अभिनय कौशल प्रस्तुत गरेका छन् ।
‘पिताम्बर’ का निर्माता विशाल चौलागाईं रहेका छन् भने पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सह–निर्माता छन् । सुमन गौतम कार्यकारी निर्माताको भूमिकामा छन् । फिल्मको पटकथा र संवाद प्रदीप भारद्वाज र अभिमन्यु निरवीले लेखेका छन् भने छायाङ्कन पुरुषोत्तम प्रधान, शेरबहादुर लामा र मानकृष्ण महर्जनले गरेका छन् ।
सम्पादन बन्दे प्रसादले गरेका छन् भने आशीष अविरल र बाबुल गिरीको सङ्गीतले कथालाई थप जीवन्त बनाएको छ । हिमाल केसीको द्वन्द्व निर्देशनले एक्सन दृश्यहरूलाई रोमाञ्चक बनाएको छ । नेपालभर आरआर फिल्म्सले वितरण गर्ने यो फिल्मले दर्शकहरूमाझ ठूलो अपेक्षा जगाएको छ । ट्रेलरले दिएको संकेतअनुसार ‘पिताम्बर’ एक्सन, ड्रामा र सामाजिक सन्देशको संयोजनले भरिपूर्ण हुने अनुमान गरिएको छ ।















Discussion about this post