इटहरी/ प्रतीक्षित नेपाली फिल्म ‘महाभोज’ले आफ्नो पहिलो गीत ‘मख्खै परेँ’ सार्वजनिक गरेको छ । आगामी जेठ १५ गते बिहीबारदेखि रिलिज हुने यो फिल्मको सार्वजनीक गीत कौडा भाकामा आधारित छ, जसमा सुरेन्द्र दियालीको शब्द रचना, प्रशान्त सिवाकोटीको स्वर र सङ्गीत रहेको छ । ससिका राईले पनि गायनमा साथ दिएकी छन् । गीतको भिडियोमा फिल्मका मुख्य पात्रहरू दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ र मलिका महत कौडा नृत्यमा रमाइरहेका देखिन्छन् ।
त्यस्तै, आर्यन सिग्देल र सुरक्षा पन्तको जोडीले पनि भिडियोलाई थप आकर्षक बनाएको छ । आर्यन गाउँको एक प्रभावशाली व्यक्तिको भूमिकामा छन् भने सुरक्षा उनकी पत्नीको चरित्रमा प्रस्तुत भएकी छन् । भिडियोको अन्त्यमा मलिका र खगेन्द्र छापामार शैलीको पोसाकमा देखा पर्छन्, जसले कथाको गहिराइ र रहस्यलाई संकेत गर्छ । हेर्नुस् गीतको भिडियो ।
नृत्य निर्देशक मौसम हिमालीले यो भिडियोलाई जीवन्त बनाएका छन् । दिनेश राउतले निर्देशन गरेको ‘महाभोज’को पटकथा विकास सुवेदीले लेखेका हुन् । क्लक वर्क क्रियशन र पिक्चर फ्रेमद्वारा संयुक्त रूपमा निर्मित यो फिल्मका निर्माता हिमाल कडरिया हुन् । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाह लगायतका कलाकारहरूको अभिनय रहेको छ ।















Discussion about this post