इटहरी/ मङ्गलवार सार्वजनिक भएको फिल्म ‘ऊनको स्वीटर’ को टिजरले हराउँदै गएको डायरीको संसारलाई फेरि उजागर गरेको छ । एक समय थियो, डायरीमा आफ्नो मनका भावना सहितका अक्षरहरू लेखेर राख्ने । लामो समयदेखि प्रतिक्षारत फिल्मको यो टिजर प्रेम, स्मृति र सम्बन्धको एउटा भावनात्मक क्यानभास बनेर आएको छ । डायरी पल्टाउँदा निस्कने पुरानो यादको सुगन्धलाई यो टिजरले जीवन्त बनाएको छ । यो फिल्म आगामी बैशाख २६ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
फिल्ममा विपिन कार्की र मिरूना मगर मुख्य भूमिकामा छन् । टिजरमा मिरूनाले दिएको डायरीमा विपिनले आफ्ना मनका कुरा लेख्दै गरेको दृश्यले प्रेमको गहिराइ र जटिलतालाई छुन्छ । विपिनको साङ्केतिक अभिव्यक्तिले प्रेमका अनकही भावनालाई उजागर गर्छ भने मिरूनाको अभिनयले सम्बन्धमा आउने द्वन्द्व र संवेदनालाई प्रस्तुत गर्छ । यी दुईको जोडीले दर्शकलाई एउटा प्रेमिल यात्रामा लैजाने संकेत गरेको छ । हेर्नुस् टिजर ।
विल्सन विक्रम राई, एलेक्स पारस र परीक्षा लिम्बुको अभिनयले टिजरलाई थप जीवन्त बनाएको छ । एलेक्स र परीक्षाले प्रेममा हुने रमाइला नोकझोक र भावनात्मक टकरावलाई उजागर गरेका छन् भने विल्सनको रोचक भूमिकाले टिजरमा रहस्यमयी आकर्षण थपेको छ । यी पात्रहरूले कथालाई बहुआयामिक बनाएका छन् । ‘ऊनको स्वीटर’ आर्टमाण्डू प्रा.लि.को पहिलो फिचर फिल्म हो । नवीन चौहानको लेखन र निर्देशनमा बनेको यो फिल्ममा सुरज कटुवाल सहलेखक छन् ।
सुजन चापागाईँको सङ्गीतले कथालाई भावनात्मक गहिराइ दिएको छ । सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमू र भावना खपाङ्गी मगरलगायतका कलाकारको अभिनयले कथालाई थप बलियो बनाएको छ । ‘ऊनको स्वीटर’ को टिजरले डिजिटल युगमा हराउँदै गएको डायरीको आत्मीयतालाई फर्काउने संकेत गरेको छ । यो टिजर एउटा फिल्मको झलक मात्र होइन, हरेक व्यक्तिको मनमा लुकेका स्मृतिलाई छुने एउटा भावनात्मक सेतु हो । प्रेम र सम्झनाको यो यात्राले दर्शकलाई पूर्ण फिल्मको प्रतिक्षामा उत्साहित बनाएको छ ।















Discussion about this post