इटहरी/ नेपाली फिल्म प्रेमीहरूका लागि बहुप्रतीक्षित सस्पेन्स थ्रिलर फिल्म ‘खेल’को ट्रेलर युट्युबमा सार्वजनिक भएको छ । यो ट्रेलरले दर्शकहरूलाई रहस्य, डर र रोमाञ्चकताको अनौठो संसारमा डुबाउने संकेत गरेको छ । आगामी वैशाख १२ गते प्रदर्शनमा आउने यो फिल्मले काठमाडौंको इतिहास, लोककथा, र साथीहरूको मित्रताको बन्धनलाई पौराणिक रहस्यसँग जोडेर प्रस्तुत गरेको छ ।
ट्रेलरमा प्रमुख कलाकारहरू सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, निकिता आचार्य, समापिका गौतम, मिथिला शर्मा, सरिता गिरी र भोलाराज सापकोटालाई प्रस्तुत गरिएको छ । कथाको सुरुवातमा एक शिक्षकले विद्यार्थीहरूलाई काठमाडौंको इतिहास पढाइरहेको दृश्य छ, तर त्यसपछि अन्धविश्वास, रोगको प्रकोप र कालो जादुका कुराहरूले माहोल रहस्यमय बन्छ । पुराना शिलालेख र कलाकृतिका दृश्यहरूले कथालाई थप गहिराइ दिन्छन् । हेर्नुस् ट्रेलर ।
ट्रेलरले साथीहरूबीचको मित्रता र असमझदारीलाई पनि उजागर गरेको छ । उनीहरू लुडो लगायतका खेल खेलिरहेका देखिन्छन्, तर एउटा खेलपछि उत्पन्न हुने समस्याले कथा नयाँ मोड लिन्छ । सुरक्षा पन्तको अस्वाभाविक व्यवहार, हेना नगरकोटीको रहस्य सुल्झाउने कोसिस र मोनिका थापा तथा समापिका गौतमको फरक गतिविधिले दर्शकमा कौतुहलता जगाउँछ । “एउटा पौराणिक कथा, सदियौँदेखिको बन्धन, एउटा घातक खेल, मित्रताको बन्धन, ईर्ष्याद्वारा भ्रष्ट, अकाट्य भोग” जस्ता वाक्यांशले चलचित्रको डरलाग्दो र रहस्यमय वातावरणलाई झनै बलियो बनाएको छ ।
यो फिल्म काठमाडौंको होस्टेलमा अध्ययनका लागि बसेका साथीहरूको कथामा आधारित छ, जसलाई आफ्नै विगतका भयानक घटनाहरूले पछ्याइरहेका छन् । ट्रेलरमा यी साथीहरूको जीवनमा आउने रहस्यमय परिस्थिति र चुनौतीहरूलाई रोचक ढङ्गले प्रस्तुत गरिएको छ । नेपाली लोककथा, परम्परा, अध्यात्म र थ्रिलरको मिश्रणले यो फिल्मलाई फरक स्वाद दिने अनुमान गरिएको छ । ‘खेल’को निर्देशन अनुराग प्रधान र आस्था श्रेष्ठले संयुक्त रूपमा गरेका छन् ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा बनेको यो फिल्मका निर्माता लुइसराज महर्जन र आशिषराज महर्जन हुन्, भने सह-निर्माता कुणालराज गुरुङ र रहिशराज महर्जन छन् । कथा आशिषराज महर्जनको हो भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले लेखेका छन् । फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनको छ । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, र मेकअप दिपु पौडेलले सम्हालेका छन् । प्रोडक्सन म्यानेजर यमप्रसाद ओली हुन् । फिल्मको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टको जिम्मेवारीमा छ ।















Discussion about this post