इटहरी/ नेपाल र भारतको गोवामा छायांकन गरिएको फिल्म ‘वसन्त’ को गीत ‘हेर्दै आँखामा’ सार्वजनिक भएको छ । आइतबार बेलुका रिलिज भएको यो गीत केही घन्टामै युट्युब ट्रेन्डिङमा उक्लिन सफल भएको छ । यो समाचार तयार गर्दै गर्दा युट्युब ट्रेण्डिङ अन्तर्गत म्युजिक क्याटोगरिमा ट्रेण्डिङको सातौं स्थानमा उक्लिएको छ । यता भिडियोलाई ३ लाख ४९ हजार बढी पटक हेरिएको छ ।
२३ हजार बढी सकारात्मक प्रतिक्रिया प्राप्त भएको भिडियो समावेस वसन्तमा अभिनेता तथा निर्देशक प्रकाश सपुत र अभिनेत्री स्वस्तिमा खड्का प्रमुख भूमिकामा छन् । यस्तै सार्वजनिक रोमान्टिक भिडिओमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर रहेको छ । गीतको शब्द तथा संगीत प्रकाश सपुतकै हो भने संगीत निर्माता योगेश काजी रहेका छन् । प्रकाशका अनुसार यो गीतले मानिस जुनसुकै जात, धर्म वा वर्गको भए पनि उनीहरू एउटै हुन् भन्ने सन्देश दिन्छ । हेर्नुस् गीतको भिडियो ।
भिडियोमा फिल्मका मुख्य पात्र वसन्तले विभिन्न धर्म र संस्कार अनुसार विवाह गरेको देखाइएको छ, जसले फिल्मको कथा र मर्मलाई चित्रण गर्ने प्रयास गरेको छ । भिडियोको छायांकन सुशन प्रजापतिले गरेका छन् भने केवीका खत्रीले कोरियोग्राफी गरेका छन् । प्रवीन भट्टको सम्पादन रहेको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया पाइरहेको छ । फिल्म ‘वसन्त’ यही चैत्र २२ गते शुक्रबारदेखि नेपाल र विदेशमा एकसाथ रिलिज हुने तयारीमा छ ।
प्रकाश सपुत र स्वस्तिमा खड्कासँगै यो फिल्ममा प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्ग बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारी लगायतको अभिनय रहेको छ । गलबन्दी प्रोडक्सनको प्रस्तुति रहेको फिल्मका निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।















Discussion about this post