इटहरी/ निर्देशक सौरभ चौधरीको लेखन र निर्देशनमा तयार भएको फिल्म ‘कर्मा’को यतिबेला प्रचार दिनप्रतिदिन बाक्लिदै गइरहेको छ । यसैक्रममा चर्चित गायक दुर्गेश थापाले यो फिल्मका लागि गीत गाएका छन् भने सुशान्त केसीले पार्श्व गायनमा डेब्यु गरेका छन् । दुर्गेशले गाएको गीतको भिडियो आइतबार छायांकन भएको छ, जुन चाँडै सार्वजनिक हुने निर्माण पक्षले बताएको छ । यो गीतमा विपीन कार्की, उपासना सिंह ठकुरी र मुकुन भुसालको अभिनय देखिनेछ ।
एक्सन, ड्रामा र सस्पेन्सको मिश्रणले भरिएको ‘कर्मा’ यही चैत २९ मा नयाँ वर्ष २०८२ सालको अवसर पारेर नेपाल र विदेशमा एकसाथ रिलिजको तयारीमा छ । यो फिल्ममा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, दिब्यदेव, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी र निर्मल शर्मालगायतका कलाकार छन् । फिल्मको कथा निर्देशक चौधरीले लेखेका हुन भने भाष्कर स्वाँरको संगीत, कविराज गहतराजको कोरियोग्राफी, श्री श्रेष्ठको द्वन्द्व र निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
कर्मामा समीर मियाको भिएफएक्स, उत्तम न्यौपानेको ब्याकग्राउण्ड स्कोर, विजय बश्यालको पब्लिसिटी डिजाइन र राजेन्द्र मोक्तानको रंग संयोजन छ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशकको भूमिकामा छन् । ‘कर्मा’को अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिज सिनेमाले लिएको छ भने आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुतिमा वसन्त लम्सालको लगानी छ । निर्देशक चौधरीको अघिल्लो फिल्म ‘अगस्त्यः च्याप्टर १’ले सकारात्मक प्रतिक्रिया पाएको थियो । ‘कर्मा’ले पनि दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।
















Discussion about this post