इटहरी/ नेपाली फेसनको बृहत् र आकर्षक झल्को दिने ‘आइइसी डिजाइनर रनवे’को १५औँ संस्करण शुक्रबार साँझ भव्य रूपमा सम्पन्न भएको छ । यो विशेष अवसरमा अभिनेत्री स्वस्तिमा खड्का, प्रियंका कार्की, नीति शाह, सृष्टि श्रेष्ठ, आना शर्मा, नम्रता श्रेष्ठ, मिस नेपाल प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पण जङ कार्की, मोडल सविता कार्की, सोफिया भुजेल, आस्था पोखरेल लगायतका चर्चित सेलिब्रेटी एउटै र्याम्पमा देखिएका थिए ।
उनीहरूले विभिन्न आकर्षक पहिरनमा शो टपरको रूपमा र्याम्पमा प्रस्तुति दिएका थिए । दारबारमार्गस्थित होटल याक एण्ड यतिमा आयोजना गरिएको यस फेसन शोमा ४० डिजाइनरले डिजाइन गरेका विभिन्न पहिरनहरू १२ सिक्वेन्समा मोडलहरूले प्रस्तुत गरे । कार्यक्रमलाई अन्तर्राष्ट्रिय स्तरका चर्चित कोरियोग्राफर यतिन गान्धीले कोरियोग्राफ गरेका थिए । शोको व्यवस्थापन नेक्स्ट मोडल्स नेपालले गरेको हो ।
नेक्स्ट मोडल्स नेपालका सिइयो रवि धमलाका अनुसार यो संस्करण दुई दिनसम्म चल्नेछ, जसअनुसार शनिबार पनि फेसन शो निरन्तर आयोजना भएको थियो । शनिबारको शोमा आइइसी कलेजका २०२३ ब्याचका १०२ विद्यार्थी डिजाइनरहरूले तयार पारेका फरक-फरक पहिरन २४ सिक्वेन्समा प्रस्तुत गरिएको छ ।
आयोजक आइइसी कलेजकी प्रबन्ध निर्देशक शैलजा अधिकारीले ‘आइइसी डिजाइनर रनवे’को मुख्य उद्देश्य नेपाली फेसन डिजाइनरहरूको सिर्जनालाई प्रवर्द्धन गर्दै अन्तर्राष्ट्रिय स्तरमा नेपाली फेसनलाई स्थापित गराउनु रहेको बताइन् । यस वर्ष कार्यक्रमलाई अझै भव्य बनाउँदै पहिलो पटक दुई दिनसम्म निरन्तर आयोजना गरिएको हो ।
Discussion about this post