इटहरी/ यही चैत्र २२ गते शुक्रबार नेपालसहित विदेशमा एकसाथ प्रदर्शन हुने फिल्म ‘वसन्त’को नयाँ गीत ‘हेर्दै आँखामा’ आइतबार सार्वजनिक हुने भएको छ । यसअघि सार्वजनिक भएका गीत-संगीत, टिजर र ट्रेलरले दर्शकमाझ उच्च चर्चा कमाइसकेको छ, जसले यो फिल्मलाई यस वर्षकै प्रतिक्षित फिल्मको सूचीमा पुर्याएको छ । भारतको गोवा र रसुवाको लाङटाङमा छायांकन गरिएको यो गीतमा प्रकाश सपुत र स्वस्तिमा खड्कालाई रोमान्टिक शैलीमा देख्न सकिन्छ ।
गीतमा सुगम पोखरेल र समीक्षा अधिकारीको स्वर छ भने शब्द तथा संगीत प्रकाश सपुतकै रहेको छ । संगीत संयोजन योगेश काजी शाहले गरेका छन् । गलबन्दी प्रोडक्सनको ब्यानरमा बनेको यो सामाजिक कथावस्तुमा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे र विशाल पहारीको अभिनय रहेको छ ।

फिल्मले विपन्न विश्वकर्मा समुदायको एक युवाले लेखक बन्न गर्ने संघर्षको कथा प्रस्तुत गर्छ । प्रकाश सपुत स्वयंले फिल्मको कथा, पटकथा र संगीत तयार पारेका छन् । फिल्मको निर्माता मोहन विश्वकर्मा र बिन्दु बोहोरा हुन् भने कार्यकारी निर्माता अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । सुसन प्रजापतिले खिचेको यो फिल्मको छायांकन बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानहरूमा गरिएको हो । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले फिल्म वितरण गर्नेछन् ।


















Discussion about this post