इटहरी/ नेपाली फिल्म उद्योगमा सामाजिक कमेडी कथावस्तुमा आधारित नयाँ फिल्म ‘जन्ते बाख्रो’ प्रदर्शनको तयारीमा रहेको छ । सौगात मल्ल, आशिफ शाह र गरिमा शर्माको मुख्य भूमिका रहेको यस फिल्मको फर्स्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति जेठ २३ गते तय गरेको छ । हालसम्म सोही मितिमा अन्य कुनै पनि फिल्मले प्रदर्शन मिति घोषणा गरेका छैनन् ।
सार्वजनिक पोस्टरमा आशिफ शाह र गरिमा शर्मालाई रोमान्टिक मुडमा देखाइएको छ भने सौगात मल्ल निराश मुद्रामा उनीहरूलाई नियालिरहेका छन् । पोस्टरमा चस्मा लगाएको बाख्रो देखिन्छ, जसले नै ‘जन्ते बाख्रो’ शीर्षकलाई प्रत्यक्ष रूपमा संकेत गर्छ । निर्माण टिमका अनुसार फिल्मको कथा विवाहको जन्तीमा खसी बाख्रो खुवाउने परम्पराबाट प्रेरित छ ।

सिमोस सुनुवारको निर्देशनमा बनेको यो फिल्ममा सौगात, आशिफ, गरिमाका साथै रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरूको अभिनय छ । फिल्मको कथा, पटकथा र संवाद प्रदीप भारद्धाजले लेखेका छन् भने सन्तोष गौतम निर्माता हुन् ।
हरि हुँमागाईको डिओपी, उत्तम हुँमागाईको सिनेमाटोग्राफी, सुनिल शिवभक्तिको सम्पादन तथा रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) को पोस्टर डिजाइन रहेको यो फिल्म मुईन इन्टरटेनमेन्टको प्रस्तुति हो । फिल्मको वितरण टिफल्क फिल्मस्ले गर्नेछ भने डिजिटल अधिकार निर्माण कम्पनी स्वयंले सुरक्षित राखेको छ ।















Discussion about this post