इटहरी/ नेसनल अवार्ड विजेता अभिनेता सुशान्क मैनाली लामो समयपछि नेपाली फिल्ममा फर्किने भएका छन् । उनले नेपाली फिल्म ‘जनै हराएको बाहुन’मा मुख्य भूमिका निभाउने भएका हुन् । सम्बन्धका धागोहरूको कथा मन परेकाले आफू धेरै वर्षपछि नेपाली फिल्ममा फर्किन लागेको मैनालीले बताए ।
हरितालिका तीजको अवसर पारेर आगामी भदौ १० गते रिलिज हुने यो फिल्ममा यसअघि विजय बराल, गौरव पहाडी, रियर राई, केकी अधिकारी र मिरुना मगर प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन् । हालै मैनालीको प्रवेशले फिल्म निर्माण टोलीलाई थप उर्जा प्रदान गरेको फिल्मका एसोसिएट निर्देशक मनिष राउतले बताएका छन् ।
‘जनै हराएको बाहुन’लाई हिमाल न्यौपानेले निर्देशन गर्दैछन् भने कथा, पटकथा तथा संवाद भानुभक्त ढकालले लेखेका छन् । गाउँबाट सहर आएका एक व्यक्तिले भोग्नुपर्ने चुनौती र त्यसले ल्याउने परिवर्तनको कथालाई फिल्मले प्रस्तुत गर्नेछ । साथै, आमा-छोराको भावनात्मक सम्बन्ध र आमाको सुखका लागि छोराले गर्ने संघर्ष यस फिल्मको मुख्य विषयवस्तु हो ।
फिल्मको छायांकन यही चैत २५ गतेदेखि ४० दिनको सेड्युल सहित पाल्पा र काठमाण्डौमा गरिने बताईएको छ । पेपरक्लिप प्रालिको ब्यानरमा निर्माण हुने यस फिल्मका निर्माता आदित्य फिल्म्स रहेका छन् भने नवीन गुरुङले छायांकनको जिम्मेवारी सम्हाल्नेछन् । केही समयअघि सार्वजनिक गरिएको थिम मोसन पोस्टरमार्फत फिल्मको कथालाई संकेत गरिएको थियो ।















Discussion about this post