इटहरी/ वैशाख १९ गते प्रदर्शन हुने फिल्म ‘झिल्को’को टिजर सार्वजनिक भएको छ । ‘झोला’ निर्देशक यादकुमार भट्टराईको निर्देशनमा बनेको यस फिल्मको टिजरले मोबाइल एडिक्सन अर्थात् मोबाइलको लतले समाजमा पार्ने गम्भीर असरलाई उजागर गरेको छ । टिजरमा विशेषगरी बालबालिकामाथि मोबाइलले पार्ने प्रभावलाई चित्रण गरिएको छ । अहिलेको पुस्तामा बढ्दो डिजिटल निर्भरता र त्यसले पार्ने मनोवैज्ञानिक, सामाजिक तथा पारिवारिक असरलाई टिजरमा प्रस्तुत गरिएको छ ।
मोबाइलको कारणले सम्बन्धहरूमा आउने दरार, आपसी दूरी, तथा वास्तविक जीवनभन्दा डिजिटल संसारमा हराउँदै गएका पात्रहरूको कथा टिजरमा झल्किन्छ । सामाजिक विषयवस्तुमा फिल्म निर्माण गर्दै आएका निर्देशक भट्टराईले यसअघि ‘झोला’मा सतीप्रथा र ‘भोर’मा दाइजो प्रथाको कथा उठाएका थिए । अहिलेको समयमा प्रविधिको सामाजिक विस्तार र प्रभावलाई केन्द्रीय विषय बनाउँदै उनले ‘झिल्को’ निर्देशन गरेका हुन् । हेर्नुस् टिजर ।
फिल्ममा आयुषि ढकाल, सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जेभिन श्रेष्ठ र जेभिस श्रेष्ठको अभिनय रहेको छ । दीपक बज्राचार्यको छायांकन, निमेष श्रेष्ठको सम्पादन, श्याम कुँवरको कलर र साउण्ड मिक्सिङ उत्तम न्यौपानेले गरेका छन् । फिल्मको कथा तथा पटकथा निर्देशक भट्टराईले अरुणदेव जोशी र देवव्रतसँग मिलेर तयार पारेका हुन् । आनन्द अधिकारीको गीतमा चण्डीप्रसाद काफ्ले र दीपक शर्माको संगीत रहेको छ भने शिव परियार, निशा देशार र सहिमा श्रेष्ठको स्वर सुन्न सकिन्छ । मिडिया फर कल्चर प्रा. लि.को प्रस्तुति तथा जनता टिभिको निर्माण सहकार्यमा यो फिल्म तयार भएको हो ।















Discussion about this post