इटहरी/ यही फागुन २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘आउटलः दफा २१९’ को ओएसटी ‘अन्धो कानुन’ सार्वजनिक भएसँगै दर्शकमाझ चर्चा बढेको छ । विक्की महर्जन निर्देशित फिल्मको यो गीतले सरकार र नेतामाथि तिखो व्यंग्य प्रहार गरेको छ । कानुनको अन्धोपनले समाजमा नारीमाथि हुने अन्यायलाई उजागर गर्दै गीतले सत्ता, अन्याय र विसंगतिलाई प्रस्ट्याउने प्रयास गरेको छ ।
मिस्टर डीको संगीत तथा र्याप रहेको यो गीतमा नितु पुनले स्वरमा साथ दिएकी छिन् । दीर्घ धामीको कन्सेप्ट, सम्पादन र निर्देशनमा तयार भिडियोमा सलिना सुनार र साजेश बलामी पनि निर्देशन टिममा छन् भने राजेश कुटुको कोरियोग्राफी छ । हेर्नुस् गीत ।
दर्शकले गीतलाई सकारात्मक प्रतिक्रिया दिँदै जनताको आवाज बोलेको बताइरहेका छन् । गीतमा ‘एउटै व्यक्ति पटक-पटक सरकारमा पुगेर जनतामाथि अन्याय गरिरहन्छ’ भन्ने आशय झल्काइएको छ । बलात्कारीलाई संरक्षण गर्ने प्रवृत्तिलाई गीतले कठोर शब्दमा कटाक्ष गरेको छ ।
अमित अग्रहरी र निशा गुइडेको लगानीमा निर्माण भएको फिल्मको पटकथा विक्की महर्जन र दीर्घ धामीले लेखेका छन् । विनोद कठायत कार्यकारी निर्माता रहेको यस फिल्ममा सुशील श्रेष्ठ, नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेममान गुरुङ, सोनी लागुन, विशाल पहारी, महेश त्रिपाठी, आयन परियारको अभिनय रहेको छ ।















Discussion about this post