इटहरी/ रहस्य, सस्पेन्स र नेपाली लोककथाको मिश्रण प्रस्तुत गर्ने तयारीमा रहेको फिल्म ‘खेल’ वैशाख १२ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा फिल्मको शीर्ष गीत सार्वजनिक गरिएको छ, जसमा स्याम्मी डी रियल जीको स्वर तथा रचना रहेको छ । सङ्गीत सुरज ब्लुजले दिएका छन् भने भारतका अभिनव अग्निहोत्रीले मिक्सिङ तथा मास्टरिङ गरेका छन् ।
गीतको भिडियोमा सुरक्षा पन्त, मोनिका थापा, हेना नगरकोटी, समापिका गौतम, निकिता आचार्य, मिथिला शर्मा, भोला राज सापकोटा, सरिता गिरी, किरण श्रेष्ठ, भावना घिमिरे, सुहानी खड्का क्षेत्री लगायतका कलाकारहरूको प्रस्तुति रहेको छ । विशेष रूपमा गायिका स्याम्मी डी रियल जी तथा बक्सर रश्मिला श्रेष्ठलाई फिचर गरिएको छ ।
बलिउडका अनुभवी सह-निर्देशक अनुराग प्रधान र नेपालमा लामो समयदेखि सह-निर्देशन गर्दै आएका आस्था श्रेष्ठले संयुक्त रूपमा निर्देशन गरेको फिल्म अध्ययनका लागि काठमाडौंको होस्टेलमा बसेका चार साथीहरूको वरिपरि घुम्छ, जसलाई उनीहरूको अतीतका भयानक घटनाले पछ्याइरहेको हुन्छ । हेर्नुस् गीत ।
सिरुपाते कट्स प्रालिको ब्यानरमा निर्माण भएको ‘खेल’ का निर्माता आशिषराज महर्जन हुन् भने कार्यकारी निर्माता लुइसराज महर्जन तथा सह-निर्मातामा कुनालराज गुरुङ र रहिशराज महर्जन छन् । कथा आशिषराज महर्जनले लेखेका हुन् भने पटकथा अभितेन्द्र र अनुराग प्रधानले तयार पारेका छन् । संवाद विष्णु गैरेको रहेको छ ।
फिल्मको छायाङ्कन रोशन राई र सञ्जय लामाले गरेका छन् भने सम्पादन आशिषराज महर्जनले गरेका छन् । ध्वनि डिजाइन विकल प्रधान, रङ्ग संयोजन राजेन्द्र मोक्तान, प्रोडक्सन डिजाइन किशोर नेपाल, कस्ट्युम डिजाइन एलेक्स बसुकला, मेकअप दिपु पौडेलले गरेका छन् । प्रोडक्सन म्यानेजर यमप्रसाद ओली हुन् । फिल्मको वितरण डिसिएनले गर्नेछ भने पब्लिसिटी डिजाइन ट्राइडेन्ट कन्सेप्टले तयार पारेको छ ।















Discussion about this post