इटहरी/ आगामी चैत्र १ गते नेपालमा प्रदर्शन हुन लागेको फिल्म ‘राजागंज’ की मुख्य अभिनेत्री आशा मगराती प्रतिष्ठित फ्रिबर्ग अन्तर्राष्ट्रिय फिल्म महोत्सव (FIFF) को जुरी सदस्यमा मनोनित भएकी छिन् । नेपाली फिल्मका लागि यो एउटा ठूलो उपलब्धि हो, किनकि उनले विश्वस्तरीय प्रतिस्पर्धामा निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । फ्रिबर्ग महोत्सवले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मगरातीलाई जुरी सदस्यमा छनोट गरेको घोषणा गरेको हो । महोत्सवको ३९ औं संस्करणको कथानक प्रतिस्पर्धाका लागि उनलाई बेलायती छायांकार डेरेक हडसन र स्वीस अभिनेत्री तथा पियानोवादक अन्ना पिएरी जुरचर सहित जुरी सदस्यका रूपमा चयन गरिएको छ ।
यसपटक फ्रिबर्गमा अभिनेत्री मगरातीको मात्र उपस्थिति रहने छैन, किनकि उनको प्रमुख भूमिका रहेको फिल्म ‘राजागंज’ समेत महोत्सवमा प्रिमियर हुँदैछ । यसअघि, उनले अभिनय गरेको फिल्म ‘सेतो सूर्य’ले २०१७ मा फ्रिबर्ग महोत्सवमा ४ अवार्ड जितिसकेको थियो । फ्रिबर्ग महोत्सव मार्च २१ देखि ३० सम्म स्विट्जरल्यान्डमा आयोजना हुँदैछ । नेपालमा चैत्र १ गते ‘राजागंज’ प्रदर्शन भएपछि मगराती महोत्सवमा भाग लिन स्विट्जरल्यान्ड जानेछिन् ।
हाल उनी फिल्मको प्रचारप्रसारमा सक्रिय छिन् । दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, पशुपति राई, पूर्व मिस नेपाल निकिता चाण्डक, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतका कलाकारहरूको अभिनय रहेको ‘राजागंज’ले यसअघि भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बई जस्ता चर्चित महोत्सवहरूमा आफ्नो छाप छोडिसकेको छ । गत कात्तिक महिनामै पाँचवटा अन्तर्राष्ट्रिय महोत्सवमा फिल्म स्क्रिनिङ भएको थियो भने भेनिस फिल्म फेस्टिभलमा १० मिनेट लामो स्ट्यान्डिङ ओभेसन पाएको थियो ।
यो फिल्मका निर्देशक दीपक रौनियार लाई अमेरिकी प्रतिष्ठित पत्रिका ‘द न्युयोर्क टाइम्स’ले संसारका नौ उदीयमान निर्देशकहरूको सूचीमा राखेको थियो । साथै, चर्चित ब्राजिलियन लेखक पाओलो कोहेलोले सार्वजनिक रूपमा निर्देशक रौनियारको प्रशंसा गरेका थिए । ‘राजागंज’ आदि फिल्मस्का (दीपक रौनियार, आशा मगराती), बासुरी फिल्मस्का (रामबाबु गुरुङ, मनिराम पोखरेल), दयाहाङ राई तथा तन्हाउसर गेट (एलन आर मिलिगन) को सहकार्यमा निर्माण भएको हो । नेपालमा टिफल्क र ब्यांकटेश इन्टरटेनमेन्टले फिल्म संयुक्त रूपमा प्रदर्शन गर्ने तयारी गरेका छन् ।















Discussion about this post