इटहरी/ नयाँ पुस्ताको प्रेमलाई उजागर गर्ने रोमान्टिक कमेडी फिल्म ‘माया प्रीति’ले कलाकार छनोट प्रक्रिया अघि बढाएको छ । फिल्ममा प्रमुख भूमिकाका लागि अभिनेत्री दिव्या रायमाझी अनुबन्ध भइसकेकी छन्, तर उनको जोडी बन्ने पुरुष कलाकारसँगै अन्य भूमिका निर्वाह गर्ने कलाकारहरू अझै निश्चित भइसकेका छैनन् । त्यसैले, निर्देशक अवि श्रेष्ठको टोलीले कास्टिङ कल खुला गर्दै पुरुष मुख्य कलाकार, नेगेटिभ पात्र, पारिवारिक सदस्य तथा सहायक भूमिकाका लागि अडिसनको आह्वान गरेको छ ।
इच्छुक कलाकारहरूले ९७००६१७४३४ नम्बरमा रहेको ह्वाट्सएपमा सम्पर्क गरी आफ्नो बायोडाटा, फोटोहरू र १ देखि ४ मिनेटसम्मको अभिनय भिडियो पठाउनु पर्नेछ । निर्माण पक्षका अनुसार, ‘माया प्रीति’ निःशर्त प्रेमको यात्रामा केन्द्रित हुनेछ, जसले जुनसुकै परिस्थितिमा पनि प्रेमको गहिरो अनुभूति दिलाउनेछ । वन टू थ्री स्टुडियोज प्रा.लि. को ब्यानरमा निर्माण हुन लागेको यस फिल्मका निर्माता सुवास चन्द्र प्रधान हुन् ।
फिल्ममा निशा अधिकारी कार्यकारी निर्माताको रूपमा आवद्ध छिन् भने सन्तोष कुमार कार्की समेत कार्यकारी निर्माताका रूपमा रहेका छन् । फिल्मको क्रिएटिभ निर्देशक प्रणव जोशी हुन्, जसले सुपरहिट फिल्म ‘रेशम फिलिली’ को निर्देशन गरिसकेका छन् । साथै, उनी एआई कलाकारको रूपमा समेत परिचित छन् । नेपाल टेलिभिजनको चर्चित शो ‘प्ले इट अन’ मा पाँच वर्ष काम गरिसकेको अनुभवी टोलीको निर्माणमा बन्ने ‘माया प्रीति’को छायाङ्कन चाँडै सुरु गरिने तयारी भइरहेको छ ।















Discussion about this post