इटहरी/ शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘होस्टेल ३’ ले विकेन्ड ओपनिङमै उत्साहजनक व्यापार गरेको छ । वितरकहरूका अनुसार फिल्मले अपेक्षाभन्दा राम्रो व्यापार गरिरहेको छ । काठमाण्डौ उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले यसको वितरण गरेका छन् । यसैबीच, यो फिल्मको क्लब गीत ‘राजा रानी’ सार्वजनिक गरिएको छ ।
किरण माइकलको संगीत रहेको यस गीतमा सुजाता पाण्डे, सशान कँडेल र किरण माइकलकै स्वर छ भने वेला बोम्जन र सुधा मरहट्ठाको शब्द रचना रहेको छ । कोरियोग्राफर रोशन विश्वकर्माले कोरियोग्राफी गरेको गीतमा नृत्याङ्गना आश्मा विश्वकर्माको जोशिलो प्रस्तुति देख्न सकिन्छ । भिडियोमा रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ लगायतका कलाकारहरू पार्टी मुडमा देखिएका छन् भने पारस बम ‘कुलब्वाय’ लुकमा फरक अन्दाजमा प्रस्तुत भएका छन् । हेर्नुस् भिडियो।
फिल्मको सफलतासँगै कलाकारहरू शनिबार बिहानैदेखि दर्शकमाझ उपस्थित भए । काठमाण्डौका विभिन्न हलहरूमा पुगेका उनीहरूलाई दर्शकले बोकेर नचाउनेसम्म गरेका दृश्यहरू देखिए । दर्शकहरूको हुटिङबीच कलाकारहरू पनि उत्तिकै उत्साहित देखिए । फिल्मले पूर्ण मनोरञ्जन दिएको भन्दै दर्शकले राम्रो प्रतिक्रिया दिइरहेका छन् । सशान कँडेल निर्देशित यस फिल्मको पटकथा तथा संवाद माधव शर्माले लेखेका हुन् ।
फिल्मको प्रमुख भूमिकामा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायतका कलाकार छन् । प्रवीण खतिवडाले वार्डेनको भूमिका निभाएका छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान र सन्तोष बानियाँ पनि फिल्ममा छन् । फिल्मका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर छन् । कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्युसर कोसिस राज क्षेत्री हुन् ।















Discussion about this post