इटहरी/ बहुप्रतिक्षित नेपाली फिल्म ‘बलिदान’को प्रमुख महिला पात्र ‘किरण’को फर्स्टलुक सार्वजनिक गरिएको छ । नव-अभिनेत्री कविता रायले निभाएको यो पात्र संघर्ष, प्रतिरोध, र बलिदानको प्रतीक बनेर आएको छ । सार्वजनीक पोस्टरमा किरण हिंसात्मक रूपमा प्रस्तुत भएकी छन् । अनुहार र हातमा रगत लागेको छ, हातमा बन्दुकको ब्यारेल समातेकी छन् । एक आँखामात्र स्पष्ट देखिने गरी डिजाइन गरिएको पोस्टरले उनको दृढ संकल्पलाई झल्काउँछ ।
बलिदानका निर्देशक सन्तोष सेनका अनुसार यो फिल्म राज्यको मूलधारबाट किनारिएको ‘भिल्ला’ नामक वर्गको कथा हो, जुन नेपालकै यथार्थसँग मेल खान्छ । फिल्ममा ‘भिल्लमगढ’ नामक काल्पनिक स्थानको चित्रण गरिएको छ, जहाँ उत्पीडित समुदायका महिलाहरूलाई कुटिल नेताहरूले ‘युज एन्ड थ्रो’ गर्ने गरेका छन् ।

यस कथामा सशक्त रूपमा उभिन सक्ने पात्र ‘किरण’ को भूमिकाका लागि उपयुक्त अभिनेत्री छनोट गर्न अडिसन गरिएको थियो । निर्देशक सेन भन्छन्, “हामीलाई हाम्रो कथाको ‘किरण’ पात्रलाई जीवन्त बनाउने कलाकार चाहिएको थियो, जसको हाउभाउ, रुपरङ, लवज र अभिनय क्षमता प्रभावशाली होस् । यी सबै गुण कविता रायमा भेटिएकाले उनलाई छनोट गरिएको हो ।”
यो फिल्ममा समीर भट्ट मुख्य भूमिकामा छन् भने सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा लगायतका कलाकारहरूको अभिनय रहनेछ । ‘आसुसेन फिल्म्स् प्रा.ली.’को ब्यानरमा निर्माण भएको यस फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट हुन् भने कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।















Discussion about this post