इटहरी/ पारिवारिक सम्बन्धका उतारचढावलाई मार्मिक रूपमा प्रस्तुत गर्ने फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ को दोस्रो टिजर सार्वजनिक भएको छ । सुदीप भुपाल सिंह द्वारा निर्देशित यो फिल्मले दर्शकलाई भावनात्मक रूपमा जोड्ने अपेक्षा गरिएको छ । बुधबार सार्वजनिक १ मिनेट ४६ सेकेण्ड लामो टिजरमा एक परिवारभित्रका सम्बन्ध र तिनले भोग्ने संघर्षलाई प्रभावशाली ढंगले देखाइएको छ ।
अभिनेत्री लक्ष्मी गिरीको संवादबाट सुरु हुने टिजरले कथाको गम्भीर पक्ष उजागर गर्दै दर्शकलाई सोच्न बाध्य पार्छ । ७ वर्षपछि निर्देशनमा फर्किएका सिंहले यसअघि ‘माला’ र ‘रुद्रप्रिया’ जस्ता फिल्म निर्देशन गरेका थिए । पछिल्लो समय सामाजिक-पारिवारिक फिल्म कम बन्न थालेको अवस्थामा उनले दर्शकको मन छुने कथासँगै ‘श्री बुकुरो’ निर्माण गरेका हुन् । हेर्नुस् टिजर ।
फिल्मको पोस्ट-प्रोडक्सन अन्तिम चरणमा रहेकाले निर्माण टिम केही दिनमै प्रदर्शन मिति घोषणा गर्ने तयारीमा छ । फिल्म रेञ्ज को ब्यानरमा बनेको यस फिल्ममा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतिकराज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मी भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मा लगायतको अभिनय रहेको छ ।
फिल्मको कथा निर्देशक सिंह स्वयंले लेखेका हुन् भने निर्माण रुबी सेन सिंहले गरेकी छिन् । सञ्जय लामा र राजेश श्रेष्ठ को छायांकनमा तयार भएको यो फिल्मलाई मुस्ताङ, बाग्लुङ, कास्की, दमौली, मकवानपुर र काठमाडौंका विभिन्न लोकेसनमा छायांकन गरिएको हो । पारिवारिक भावनासँग जोडिएको यस फिल्मका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटा को संगीत समावेश छ ।















Discussion about this post