इटहरी/ महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा नम्बर एक गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको वास्तविक जीवनकथामा आधारित नेपाली फिल्म ‘अञ्जिला’ को ट्रेलर सार्वजनिक भएसँगै युट्युब ट्रेन्डिङको मुभी सेक्सनको दोस्रो स्थानमा पुगेको छ । फागुन २९ गते रिलिज हुन लागेको यो फिल्मको ट्रेलरले दर्शकबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ । यो समाचार तयार पार्दासम्म ट्रेलरले करिब १० लाख भ्युज बटुलिसकेको छ ।
फिल्मको ट्रेलरमा एन्जिलाले आफ्नो फुटबलप्रतिको चाहना, संघर्ष, समाजका अवरोध पार गर्दै कप्तान बन्दा सम्मको यात्रा चित्रण गरिएको छ । विशेष कुरा के छ भने, एन्जिलाले आफ्नै कथामा आधारित फिल्ममा आफैँ अभिनय गरेकी छन् । दर्शकहरूले उनको अभिनयको प्रशंसा गर्दै, फिल्मले खेलाडीहरूको वास्तविक जीवनसंघर्षलाई बलियो रूपमा उठाएको बताएका छन् । हेर्नुस् ट्रेलर।
युट्युबमा ट्रेलर हेरेपछि धेरै दर्शक भावुक भएका छन् । कतिपयले फिल्मले नेपाली चेलीहरूको संघर्षको कथा बोलेको बताउँदै, यो केवल खेलाडीहरूका लागि मात्र नभई हरेक नेपाली युवतीका लागि प्रेरणादायी बन्ने विश्वास व्यक्त गरेका छन् । खेल क्षेत्रमा योगदान दिने नेपाली चेलीको कथालाई पर्दामा उतारिएको हुनाले यस फिल्मलाई सफल बनाउन सबैले सघाउनुपर्ने प्रतिक्रियाहरू देखिएका छन् ।
फिल्मका निर्देशक मिलन चाम्सले ट्रेलरले पाएको दर्शकको मायाप्रति आभार व्यक्त गर्दै फिल्मलाई पनि यस्तै माया दिन आग्रह गरेका छन् । उनले विशेषगरी खेल प्रेमी र खेलाडीहरूलाई फिल्म हेर्न अनुरोध गर्दै भने, “यो खेलाडीको संघर्षको कथा हो । यदि यो फिल्म सफल भयो भने, भविष्यमा खेलसम्बन्धी फिल्म बनाउन निर्माताहरू अझ बढी इच्छुक हुनेछन् ।”
फिल्ममा एन्जिला तुम्बापो सुब्बासँगै प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको अभिनय रहेको छ । सुदीप बरालको छायाङ्कन, मिलन श्रेष्ठको सम्पादन रहेको यो फिल्मको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा र काठमाडौँमा गरिएको हो । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् भने सह-निर्माताका रूपमा टुबेन्द्र लिम्बु, विनोद अग्रवाल र राजेश बगडिया रहेका छन् ।















Discussion about this post