इटहरी/ आगामी चैत्र २२ गते चैते दशैंको अवसरमा प्रदर्शन हुन लागेको फिल्म ‘वसन्त’को गीत ‘बिना स्वादैको’ सार्वजनिक भएको छ । प्रकाश सपुतको निर्देशनमा बनेको फिल्मले अन्तरजातीय प्रेम, सामाजिक बाध्यता र एक युवकको संघर्षको कथा प्रस्तुत गर्छ । गायक देवेन्द्र बब्लु (दि फिरन्ते)को स्वर तथा परिकल्पना रहेको सार्वजनीक गीतमा संगीत गायक तथा निर्देशक प्रकाश सपुत र बब्लुले नै दिएका छन् भने संगीत संयोजन योगेश काजी शाहले गरेका छन् ।
यो समाचार तयार गर्दै गर्दा यो गीतको भिडियो युट्युब ट्रेण्डिङ मा समेत पर्न सफल भएको छ । युट्युबको म्युजिक क्याटोगरी अन्तर्गत ट्रेण्डिङ को १८ औँ स्थानमा उक्लिएको छ भने यो उक्लिने क्रम निरन्तर चलिरहेको छ । १ लाख ५० हजार बढी भयुजा बटुलेको गीतको भिडियोलाई १५ हजार बढी लाईक आएको छ।
हरर-रोमान्टिक थिममा तयार पारिएको गीतको भिडियोमा प्रभात पाल ठकुरी, श्री शिभान्सी, गायक देवेन्द्र बब्लु, मुख्य सहायक निर्देशक सुनिल विक र कलाकार विशाल पहारी प्रस्तुत छन् । भिडियोमा प्रेममा बाधा सिर्जना गर्न अपनाइने अनौठा उपायहरू देखाइएको छ । फिल्ममा प्रकाश सपुत र स्वस्तिमा खड्कासँगै प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे, खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको अभिनय रहेको छ । हेर्नुस् भिडियो ।
विपन्न विश्वकर्मा समुदायको युवकले लेखक बन्न संघर्ष गर्ने कथामा आधारित यो फिल्म गलबन्दी प्रोडक्सनको प्रस्तुति हो । कथा, पटकथा र संगीत समेत प्रकाश सपुतले नै तयार पारेका छन् । बागलुङ, काठमाडौं र तराईका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा रहेका छन् भने कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् । फिल्मलाई काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनीले वितरण गर्नेछ ।















Discussion about this post