इटहरी/ नेपाली र बलिउड संगीतको फ्युजन गीत ‘झ्याइँ’ले ऐतिहासिक सफलता पाएपछि गायिका तथा अभिनेत्री मञ्जयाश्री भट्ट नयाँ परियोजनामा अघि बढेकी छन् । नेपाली मौलिक संगीतलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याएपछि अब मञ्जयाश्रीले एक चर्चित बलिउड कलाकारसँग अर्को भव्य फ्युजन गीत ल्याउने भएकी हुन् । ‘झ्याइँ’ गत वर्ष न्यूयोर्कको टाइम्स स्क्वायरमा सार्वजनिक भएको थियो ।
गीतमा नेपाली लोकभाका ‘झ्याइँ पार्यो मलाई रत्यौलीको झिल्केले’लाई हिन्दी संगीतसँग संयोजन गरी प्रस्तुत गरिएको थियो । बलिउड गायक देव नेगीसँग मिलेर मञ्जयाश्रीले गाएको यस गीतले नेपाल र भारतमा चर्चा कमाउँदै युट्युबमा ८ करोड ४५ लाखभन्दा बढी भ्युज हासिल गरिसकेको छ । नयाँ गीतको तयारीसँगै मञ्जयाश्रीले नेपाली दर्शकहरूलाई धन्यवाद दिँदै “झ्याइँ’लाई नेपाली र भारतीय दर्शकहरूले जुन माया गर्नुभयो, मेरा आउँदा प्रोजेक्टहरूलाई पनि त्यही समर्थन मिल्नेछ भन्ने विश्वास छ । नेपाली संगीतलाई अझ नयाँ उचाइमा पुर्याउने मेरो यात्रा जारी छ।” भनिन् । हेर्नुस् झ्याइँ गीतको भिडियो ।
‘झ्याइँ’को म्युजिक भिडियोलाई बलिउडका अनुभवी निर्देशक विनोद प्रधानले निर्देशन गरेका थिए । ‘देवदास’ र ‘रङ्ग दे बसन्ती’ जस्ता सुपरहिट बलिउड फिल्महरूमा काम गरिसकेका प्रधानले नेपाली-हिन्दी संगीत संयोजनको अनुभव पहिलोपटक लिँदा रोचक महसुस भएको बताएका थिए । मुम्बईको भव्य एम्पिरियल प्यालेसमा छायाङ्कन गरिएको यस गीतको साउन्ड इन्जिनियरिङ, मिक्सिङ र मास्टरिङ बलिउडका चर्चित संगीत इन्जिनियर राहुल शर्माले गरेका थिए । कोरियोग्राफी भने ‘पठान’ र ‘वार’ जस्ता बलिउड फिल्ममा नृत्य निर्देशन गरिसकेका बोस्को सिजरले गरेका थिए ।














Discussion about this post