इटहरी/ सफल प्रदर्शनको यात्रामा रहेको फिल्म ‘लाज शरणम्’ को मर्मस्पर्शी गीत ‘च्यातिएको चोली’ सार्वजनिक भएको छ । सुरज पण्डितको स्वर रहेको यो गीत निर्माण टिमले फिल्म रिलिज भएको तेस्रो दिनमै सार्वजनिक गरेको हो । कुमार कट्टेलको निर्देशनमा बनेको फिल्मको यस गीतमा वसन्त उदासको शब्द र संगीत समावेश छ ।
सार्वजनीक भिडियोमा डोल्पाका मनमोहक दृश्यहरू तथा कर्णालीको विपन्न परिवारको संघर्षपूर्ण कथा प्रस्तुत गरिएको छ । भिडियोले एक दम्पतीको भावनात्मक उतार-चढाव र उनीहरूको जीवनयापनलाई मार्मिक रूपमा चित्रण गर्छ । गीतमा फिल्मका मुख्य पात्र महेश त्रिपाठी र रेणु योगी फिचर्ड छन्, जसले कथाको भावनात्मक पक्ष उजागर गर्न विशेष भूमिका खेलेका छन् । हेर्नुस् भिडियो ।
कर्णालीको प्राकृतिक सौन्दर्य, स्थानीय जीवनशैली र सरल मन भएका मानिसहरूको वास्तविकता भिडियोमार्फत देख्न सकिन्छ । लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’ को टिमले निर्माण गरेको ‘लाज शरणम्’ मा महेश त्रिपाठी, सिताराम कट्टेल (धुर्मुस), विजय बराल, रेणु योगी, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला लगायतका कलाकारहरूको उत्कृष्ट अभिनय रहेको छ ।
साथै प्रियाना आचार्य, अर्पण थापा, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बू लगायतका कलाकारहरूले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । जेपीटी क्रियसन को ब्यानरमा निर्माण भएको यो फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह-निर्माताका रूपमा छन् । व्यापारिक रूपमा राम्रो प्रदर्शन गरिरहेको ‘लाज शरणम्’ले पहिलो दिनमै १ करोड १० लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै उत्साहजनक शुरुवात गरेको छ । दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेकोले यसको व्यापार अझै बढ्ने अपेक्षा गरिएको छ ।














Discussion about this post