इटहरी/ समाजमा व्याप्त भ्रष्टाचार र विश्वासघातको कथामा आधारित नेपाली फिल्म महाभोजको छायाङ्कन सकिएको छ । दिनेश राउतको निर्देशनमा तयार भएको यस फिल्मको अन्तिम दृश्य शुक्रबार साँझ काठमाडौंमा खिचिएको हो, जसमा खगेन्द्र लामिछाने र अञ्जना बराइली फिचर्ड थिए । गत माघ ८ गते पोखराको घाचोकबाट सुरु भएको यो फिल्मको छायाङ्कन ३५ दिनसम्म चलेको थियो । निर्देशक राउतका अनुसार ३३ दिन घाचोकमा र बाँकी २ दिन काठमाडौंमा सुटिङ गरिएको हो ।
समाजमा हुने अन्याय, भ्रष्टाचार र सर्वसाधारणमाथि हुने विश्वासघातविरुद्ध आवाज उठाउने कथावस्तुमा निर्माण भएको यो फिल्म उनको आठौँ निर्देशन हो । फिल्ममा आर्यन सिग्देल, दयाहाङ राई, खगेन्द्र लामिछाने, अञ्जना बराइली, गौमाया गुरुङ, मलिका महत, वसुन्धरा भुसाल, मोहन निरौला, बुद्धि तामाङ, कमलमणि नेपाल, पुष्कर गुरुङ, विनोद न्यौपाने, आभा अर्याल र वीरेन्द्र सिंह कुशवाहलगायत कलाकारहरूको अभिनय रहेको छ ।

क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त निर्माणमा तयार भएको महाभोजका निर्माता हिमाल कडरिया हुन् भने विकास सुवेदीले कथा लेखेका छन् । फिल्मका छायाकार राजेश श्रेष्ठ, सम्पादक निमेष श्रेष्ठ, ध्वनि डिजाइनर उत्तम न्यौपाने र मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत रहेका छन् । साजन बस्ताकोटीको कला निर्देशन, रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पब्लिसिटी डिजाइन रहेको छ ।
महाभोजमा समरा जोशीको मेकअप, सरस्वती श्रेष्ठको केश स्टाइलिङ र आशिष पौडेलको कस्ट्युम डिजाइन रहेको छ । यो फिल्मको निर्माण नियन्त्रक मनोज जोशी र सहायक निर्माण नियन्त्रक विदुर मानन्धर हुन् । नेपालमा महाभोजको वितरण काफिया फिल्म्स् र कुबेर सिने डिस्ट्रिब्युसनले गर्नेछन् । हालसम्म प्रदर्शन मिति तय गरिएको छैन तर निर्देशक राउतले उपयुक्त समय छनौट गरी जानकारी दिने बताएका छन् ।














Discussion about this post