इटहरी/ नेपाली फिल्म उद्योगमा एकै समयमा तीन फिल्मको छायांकन सुरु भएको छ । महाशिवरात्रिको छेको पारेर फिल्म ‘माग्ने राजा’, ‘कोशेढुंगा’ र ‘कुस्ती’ फ्लोरमा गएका छन् । केदार घिमिरे अभिनीत ‘माग्ने राजा’ आजबाट छायांकन सुरु भएको छ भने आजैबाट सरोज पौडेल निर्देशित ‘कोशेढुंगा’ र हिजोदेखि बुद्धि तामाङ निर्मित ‘कुस्ती’ को छायांकन सुरु भएको हो ।
‘माग्ने राजा’ फिल्ममा केदार घिमिरेको मुख्य भूमिका रहनेछ । उनीसँगै आर्यन सिग्देल, वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शिशिर वाङ्गदेल लगायतका कलाकारको अभिनय रहने फिल्मलाई ऋषि लामिछानेले निर्देशन गर्दै छन् । निर्माण पक्षले यो फिल्मलाई भदौ १२ गते, हरितालिका तीजको दिन प्रदर्शन गर्ने तयारी गरेको छ ।
त्यस्तै, नेपाली फिल्म इतिहासमा रेकर्ड ब्रेक फिल्म निर्देशन गरेका सरोज पाैडेल निर्देशित फिल्म ‘कोशेढुंगा’ महिलाप्रधान हुने बताईएको छ । यो फिल्ममा सुरक्षा पन्त मुख्य भूमिकामा रहेकि छन् । उनीसँगै आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट लगायतका कलाकारको अभिनय रहनेछ । यो फिल्मको रिलिज २०८२ सालमा भनिएपनि मिति भने तोकिएको छैन ।
यसैगरी, हास्य अभिनेता बुद्धि तामाङले आफ्नै लगानीमा ‘कुस्ती’ निर्माण थालेका छन् । मंगलबार काठमाडौँको मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । अनिल योञ्जन निर्देशित यस फिल्ममा धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, लुनिभा तुलाधर लगायतका कलाकारको अभिनय रहनेछ । कुस्ती लाई २०८२ को भदौमा सार्वजनीक गर्ने निर्माण युनिटको योजना रहेको छ ।
यी तीन फरक शैलीका फिल्म एकसाथ छायांकन सुरु भएर एकैसाथ रिलिजमा नआउला भन्न सकिन्न । किन भने, २ फिल्म कुस्तिले रिलिज महिना भदौ र माग्ने राजाले रिलिज महिना भदौको १० गते तीजलाई रोजिसकेको छ । यी ३ ओटै फिल्म तिजमै रिलिज त हुने हैन ? त्यो भने हेर्न बाँकी नै छ ।














Discussion about this post