इटहरी/ नेपालको इतिहासमै साहस, बलिदान र सामाजिक परिवर्तनको प्रतीक बनेकी योगमाया न्यौपानेको जीवन कथामा आधारित फिल्म ‘योगमाया’को निर्माण औपचारिक रूपमा निर्माण घोषणा गरिएको छ । महाशिवरात्रिको अवसर पारेर आज पशुपतिनाथ मन्दिर र भोजपुरको योगमाया शक्तिपीठमा स्क्रिप्ट तथा पोस्टर पूजा गर्दै फिल्मको घोषणा गरिएको हो ।
भोजपुरको योगमाया समाधि स्थलमा स्व. पहलमानका छोरा नवराज बस्नेत, योगमाया शक्तिपीठका अध्यक्ष भुपाल बस्नेत, गुरु दामोदर भण्डारी, फिल्मका लेखक तथा टेक्निकल निर्देशक नेत्र छन्त्याल, उदास बैरागी, योगमाया खेलकुद समितिका अध्यक्ष भुपाल कठेत, टिकाराम भण्डारी, विनोद भट्टराई, मधुसुदन भट्टराई, जगन्नाथ अधिकारी, जिवनाथ सुवेदी, नीलमणि खनाल, सोमनाथ भण्डारी, कृष्णमाया नेपाल, होड ब कठेत, विद्यार्थी राज न्यौपाने लगायतले स्क्रिप्ट तथा पोस्टर पूजा गरेका थिए ।
त्यस्तै, काठमाडौंको पशुपतिनाथ मन्दिरमा फिल्मका निर्देशक रिमेश अधिकारी, कलाकार शिवशंकर रिजाल, लय संग्रौला लगायतले स्क्रिप्ट तथा पोस्टर पूजा गर्दै फिल्मको औपचारिक घोषणा गरे । राणा शासनको अत्याचारविरुद्ध लड्दै जलसमाधि लिएकी योगमाया न्यौपानेको कथा फिल्म ‘योगमाया’ मा उतारिनेछ । उनले जुद्ध शमशेर राणाको शासनकालमा समाजमा रहेको छुवाछूत, बालविवाह, सतिप्रथा, दासप्रथा जस्ता कुरीतिहरूको अन्त्यका लागि आन्दोलन गरेकी थिइन् ।
उनका हजारौं अनुयायी थिए, जसलाई उनले ध्यान र योगमार्फत सामाजिक परिवर्तनका लागि प्रेरित गरेकी थिइन् । योगमायाले पटक-पटक राणासँग आन्दोलनमार्फत आफ्नो माग राखेकी थिइन्, तर वचन दिएको भए पनि राणाले धोका दिएपछि उनले ६७ जना अनुयायीहरूसहित अरुण नदीमा जलसमाधि लिएकी थिइन् । उनको बलिदानपछि ९ वर्षमै राणा शासनको अन्त्य भएको थियो ।
निर्माता तथा निर्देशक रिमेश अधिकारीका अनुसार फिल्मले योगमायाको अदम्य साहस र बलिदानलाई पर्दामा उतार्नेछ । विगत एक वर्षको अनुसन्धानपछि विभिन्न पुस्तक, इतिहासविद् तथा जानकारहरूसँग छलफल गर्दै रिमेश अधिकारी र नेत्र छन्त्यालले फिल्मको स्क्रिप्ट तयार गरेका हुन् । यो फिल्ममा बेनिशा हमाल, लय संग्रौला, रमेश बुढाथोकी, मोहन निरौला, दिनेश डिसी, शिवशंकर रिजाल, विशाल पहारी, मनोज शाक्य, बाल कलाकार पोसन श्रेष्ठ लगायत फाइनल भएका छन् ।
अझै केही लिजेन्ड र थियटर कलाकार छनोटको क्रममा रहेको निर्देशक अधिकारीले बताए । रिमेश अधिकारी फिल्म प्रोडक्सनको प्रस्तुति रहने यो फिल्म नवराज बस्नेत, भरत सङ्ग्रौला, ईश्वर कुमार श्रेष्ठ, माधव थापा लगायतको समूहले निर्माण गर्न लागेको हो । फिल्मको कानुनी सल्लाहकार राधाकृष्ण पाठक, संयोजक समन अधिकारी, सत्यराज घिमिरे रहेका छन् भने लाइन प्रोड्युसर पुष्कर लामा हुन् । फिल्मका लागि डा. आस बा. तामाङ र पूर्वमन्त्री शंकर कोइरालाको शब्दमा दुई गीत तयार छन्, जसमा विनोद खम्बु र थानेश्वर गौतमले संगीत दिएका छन् । फिल्मको छायांकन आगामी नयाँ वर्ष २०८२ बाट सुरु हुने छ ।














Discussion about this post