इटहरी/ नेपाली फिल्म ‘होस्टेल ३’को ट्रेलरले सार्वजनीकसँगै नयाँ कीर्तिमान कायम गरेको छ । गत शुक्रबार सार्वजनिक भएको ट्रेलरले ६ घण्टाभित्रै युट्युब ट्रेन्डिङमा प्रवेश गर्यो भने २१ घण्टामा १० लाख भ्युज पार गरेको थियो । नेपालमा फिल्म सेक्सनमा पहिलो स्थानमा रहन सफल ट्रेलर हालसम्म पनि विभिन्न देशहरूमा ट्रेन्डिङमै छ । हाल ट्रेलर नेपालको युट्युब मुख्य ट्रेन्डिङको तेस्रो स्थानमा रहेको छ, जुन नेपाली मनोरञ्जन उद्योगका लागि ऐतिहासिक मानिन्छ ।
पहिलो स्थानमा नेपाल र म्यानमारबीच सम्पन्न महिला फुटबल खेलको भिडिओ छ भने दोस्रो स्थानमा मिस्टर बिस्टको सर्ट भिडिओ रहेको छ । ‘होस्टेल ३’ को प्रभाव नेपालसम्म सीमित नरहेर खाडी मुलुक, युरोप, बेलायत, जापान, अस्ट्रेलिया, कोरिया लगायत १५ भन्दा बढी देशमा व्यापक रूपमा देखिएको छ । भारतीय फिल्म उद्योगको विशाल बजारमा समेत ट्रेन्डिङमा आउन सफल ट्रेलरले अर्को इतिहास रचेको छ । हेर्नुस् ट्रेलर ।
फिल्मका निर्देशक सशान कँडेलले ट्रेलरलाई दर्शकले अत्यधिक रुचाएकोमा खुसी व्यक्त गरे । उनले भने, “ट्रेलरले प्राप्त गरेको अपार मायाले हामीलाई हौसाएको छ। चलचित्र पनि यही उत्साह अनुरूप उत्कृष्ट बनाउनेछौं।” फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली मुख्य भूमिकामा छन् । प्रवीण खतिवडा वार्डेनको भूमिकामा देखिने छन् भने आशिष पुरुष, रोहन श्रेष्ठ, उमर खान, सन्तोष बानियाँ पनि फिल्ममा छन् ।
फिल्मको कथा माधव शर्माले लेखेका हुन्, जसले एसोसिएट निर्देशकको भूमिका पनि निभाएका छन् । निर्माता सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी रहेका छन् भने सह-निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता, गणेश मगर छन् ।
कार्यकारी निर्माता शंकर कोइराला हुन् भने लाइन प्रोड्यूसर कोसिस राज क्षेत्री रहेका छन् । छायाङ्कन निर्देशन अर्जुन तिवारी, सम्पादन विकास दाहाल, एक्सन निर्देशन हिमाल केसी, सङ्गीत अर्जुन पोखरेल, अल्मोडा राणा उप्रेती, महेश ज्ञवाली, किरण माइकल, र नृत्य निर्देशन प्रवीण सिंह, रोशन विश्वकर्मा ले गरेका छन् । ‘होस्टेल ३’ को वितरण काठमाडौं उपत्यकामा काफिया फिल्म्स (गोविन्द शाही) र उपत्यका बाहिर आरआर फिल्म्स (रोहित कट्टेल, रत्न श्रेष्ठ) ले गर्नेछन्।















Discussion about this post