इटहरी/ कमेडी कलामा रुची राख्ने बालप्रतिभालाई लक्षित गरेर निर्माण गरिएको रियालिटी शो ‘कमेडी किड्स’को डिजिटल अडिसन आज महाशिवरात्रिदेखि खुला गरिएको छ । यसअघि वसन्त पञ्चमीको अवसरमा घोषणा गरिएको शोको डिजिटल अडिसन सुरू भएसँगै इच्छुक प्रतियोगीहरूले आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने भएका छन् ।
रघुजी फिल्म्सले निर्माण गर्ने यो शोमा ४ देखि १४ वर्षसम्मका बालबालिकाहरू सहभागी हुन सक्नेछन् । इच्छुकले बढीमा २ मिनेट लामो भिडियो खिची व्हाट्सएप, जिमेल वा भाइबर मार्फत पठाउनुपर्नेछ । एकल वा समूहमा भिडियो बनाउन सकिनेछ । निर्देशक सन्तोष खनालका अनुसार डिजिटल अडिसनबाट छानिएकाहरूलाई फिजिकल अडिसनमा बोलाइनेछ र उत्कृष्ट प्रतिभालाई शोको ढाँचाअनुसार अघि बढाइनेछ ।

भिडियो पठाउने क्रममा प्रतियोगीको नाम, ठेगाना र सम्पर्क नम्बर अनिवार्य उल्लेख गर्नुपर्नेछ । सहभागिताका लागि जिमेल comedykids.npl@gmail.com र मोबाइल नम्बर 9702091421 तोकिएको छ । रघुजी फिल्म्सका संचालक रघुनाथ सापकोटाका अनुसार शोको जुरी टिम तथा अन्य टिम फाइनल भइसकेको छ र छिट्टै सार्वजनिक गरिनेछ । यसका डिजिटल पार्टनर ओएसआर डिजिटल तथा भोटिङ पार्टनर ओएसआर कनेक्ट रहेको छ । कार्यक्रम राष्ट्रिय टेलिभिजनमार्फत प्रसारण गरिनेछ भने विजेताले नगद पुरस्कार प्राप्त गर्नेछन् ।














Discussion about this post