इटहरी/ फिल्म ‘कल्ली’को छायांकन आजदेखि काठमाडौंको बौद्धस्थित एक घरबाट सुरु भएको छ । निर्देशक लक्ष्मण सुनारको नेतृत्वमा ३५ दिन लामो छायांकन सेड्यूल राखिएको छ । प्रारम्भिक दृश्य काठमाडौंमा खिचिए पनि छायांकनको मुख्य हिस्सा जुम्लामा हुनेछ । आजको छायांकनमा नायक नाजिर हुसेन, नायिका वर्षा राउत, उत्तम प्रधानलगायतका दृश्यहरू खिचिए ।
फिल्ममा उत्तम प्रधान, नजीर र वर्षाको अलावा सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदिप अधिकारी र बेगम नेपालीको अभिनय रहनेछ । लेकाली इन्टरटेन्मेन्ट र कस्तूरी प्रोडक्सनको संयुक्त व्यानरमा निर्माण भइरहेको यस फिल्मका प्रस्तुतकर्ता किरण नेपाली हुन् । हिमाल कडरिया र अमलादेवी राई निर्माता रहेका छन् भने सरोज नेपाली कार्यकारी निर्माताको रूपमा छन् ।

महेश दवाडीले लेखन गरेको यस फिल्मको छायांकन निसाल पौडेलले गरिरहेका छन् । फिल्ममार्फत १३ वर्षपछि अभिनयमा फर्किएका उत्तम प्रधान यस अवसरलाई लिएर उत्साहित देखिए । उनले भने, ‘मलाई यो फिल्मको कथा निकै फरक लाग्यो, त्यसैले कमब्याक गर्ने निर्णय गरेँ । यसअघि धेरै अफरहरू आए पनि भूमिका मन नपरेर काम गरिरहेको थिइनँ ।’ फिल्ममा नाजिर हुसेन र वर्षा राउत श्रीमान्-श्रीमतीको भूमिकामा प्रस्तुत हुनेछन् । फिल्मको प्रदर्शन मिति भने अहिलेसम्म तय गरिएको छैन ।














Discussion about this post